वीरेन्द्रनगरका आकाशमा अवैध ड्रोन
सुर्खेत । पछिल्लो समय सुर्खेतमा नियमविपरित ड्रोनहरु सञ्चालन भइरहेका छन् । यहाँका अधिकांस ठाउँमा ड्रोन संचालकले उडान अगाडि अनुमति लिनु पर्ने हुन्छ । तर, यहाँका सञ्चालकहरुले कुनै पनि अनुमति नलिएको पाइएको छ । त्यति मात्रै नभई कतिपयले त उपकरण समेत दर्ता गरेका छैनन् । तर पनि सामाजिक सञ्जालमा ड्रोनका भिडियोहरु भने छरपस्टै देखिन्छन् । ड्रोन पाइलटले क्यामेरालाई जमिनबाट ५० मिटरको उचाईभित्र कायम राख्नुका साथै ड्रोन संचालन सम्बन्धमा व्यक्ति वा संस्थाले ड्रोन उडाउनु पूर्व स्थानीय प्रशासन, प्रहरी वा विमानस्थल कार्यालयसंग उडान अनुमति लिनु पर्छ ।
यद्यपि ड्रोन पाइलटले यस्ता नियमको पालना गरिएको भने पाइएको छैन । मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि, २०७५ का अनुसार जुनसुकै उद्देश्यले प्रयोग हुने हवाई उपकरणहरू (ड्रोन) नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता हुनुपर्छ । प्राधिकरणमा दर्ता भएपछि मात्र उडान अनुमति लिनु पर्ने कार्यबिधीमा स्पष्ट नियम छ । यहाँ करिब ५० जनाका ड्रोन क्यामेराहरु छन् । तर, ति मध्ये धेरैले दर्ता र अनुमति लिएका छैनन् । ड्रोन क्यामेरा उडान गर्दा व्यक्तिगत घरजग्गा माथी, सार्वजनिक इलाका, धार्मिक, सास्कृतिक वैभवका क्षेत्रहरु र महत्त्वपूर्ण पुरातात्त्विक संवेदनशिल क्षेत्रहरुमा उडाउन नपाइने कुरा ड्रोन उडान सम्बन्धी कार्यबिधी २०७५ मा स्पष्ट उल्लेख गरेको छ ।
तर सुर्खेतमा भने सो कार्यबिधिको ध्वजी उडाउँदै केही मिडियाकर्मी र केही सामाजिक अभियान्ताहरुले सुर्खेतको धार्मिक एवम् पुरातात्त्विक महत्त्व बोकेको काक्रेबिहार, देउती वज्यै मन्दिर, बुलबुले ताल, गढी क्षेत्र र मुख्य बजार क्षेत्रको भिडियोहरु छायांकन गरि सामाजिक संजालमा सार्वजनिक गरी गरेका छन् । ड्रोनको प्रयोग गर्दा स्थानिय प्रशासनमा जानकारी गराइ सुरक्षा निकायको रोहवरमा मात्र उडान गर्नुपर्ने र उडान पश्चात् प्राप्त सुचना, फोटो, नक्सा आदि स्थानीय प्रशासनमा पेश गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरेको भएता पनि कहि कतै कसैले सो कुरा पालना गरेको पाइएको छैन ।
यस्ता संवेदनशिल क्षेत्रमा ड्रोन उडाउने गरिएको भएपनि प्रहरी तथा जिल्ला प्रशासन कार्यालय मौन बसेको छ । यस्ता संवेदनशिल क्षेत्रमा ड्रोन उडाउने गरिएको भएपनि प्रहरी तथा जिल्ला प्रशासन कार्यालय मौन बसेको छ । यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने कार्यविधि अनुसार ड्रोन सञ्चालन गर्ने अनुमति दिएको बताएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले सुर्खेतमा भएका अधिकांस ड्रोन सञ्चालकहरुले प्रशासनबाट अनुमति लिएर चलाएको बताए । ‘ड्रोन उडाउने सम्बन्धी मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि, २०७५ रहेको छ, त्यही अनुरुप ड्रोन सञ्चालकहरुले हामीबाट अनुमति लिएर चलाउनु भएको छ, यहाँ भनेको झन संवेदनशिल ठाउँ हो, एयरपोर्ट पनि यही छ, त्यसैले कोही कसैले फाटफुट्ट रुपमा ड्रोन उडाउनुभएको होला, उहाँहरुलाई पनि हामी कारबाही गर्छाै ।’ उनले भने ।
यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक कर्मचारीले कतिपयले अनमुति लिएर चलाएको भएपनि उनीहरुले लिएको अनुमतिको म्याद सकिएको बताए ।उनले हामीले निश्चित समय दिएका हुन्छौ, तर उहाँहरुले त्यो समय सकिसकेपछि पनि ड्रोन उडाइरहेका हुन्छन्, कतिपयले त अनुमति नलिएर चलाएको पनि छन्, हामीले छिट्टै सुचना सार्वजनिक गरी उनीहरुलाई अनुमति लिन आग्रह गर्छौ, यदि सुचनाको अवेज्ञा गरे कारबाही गर्छाै ।’ उनले सेतोपन्छीसँग भने ।
प्रतिक्रिया दिनुहोस्