काठमाडौं- सेवा सुरूवातको चार वर्षमै इन्टरनेट सेवाको बजारमा दोस्रो स्थानमा पुगेको डिशहोमले सन् २०२४ मै चार लाखभन्दा बढी ग्राहक पुर्‍याउन लक्ष्य लिएको छ। सेवा सञ्चालनको सुरुवातमै आक्रमक सुरुवात गरेको कम्पनीले डिशफाइबर नेटको विस्तारलाई तीव्रता दिने योजना बनाएको छ। अहिलेसम्म गरिएको लगानीलाई दिगो बनाउनका लागि पनि ग्राहक संख्या थप हुनुपर्ने अवस्था रहेको छ।असोजसम्म तथ्यांक अनुसार डिसफाइबरनेट ग्राहक संख्याको आधारमा दोस्रो स्थानमा पुगेको छ। डिशफाइबर नेटका ग्राहक सङ्ख्या ३ लाख १७ हजार ३१ पुगेका छन्। पहिलो स्थानमा वर्ल्डलिंक रहेको छ। डिशहोमले सुविसु, भायानेट र क्लासिक टेकलाई पछि छाडेको हो।इन्टरनेट सेवामा लामो इतिहास बनाएका कम्पनीहरूलाई उछिनेर डिशहोम अघि बढेकोमात्र होइन यो विस्तारलाई तीव्रता दिने भएको छ।

अहिलेसम्म देशभर बनाइएको पूर्वाधार र सञ्जालले प्रतिफल दिने समय आएको र यसले अझै तीव्रता पाउने प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले जानकारी दिए। ‘सन् २०२४ मा कम्तिमा चार लाख ग्राहक पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ’ उनले भने।टीभी प्रसारणबाट व्यवसाय सुरू गरेको डिशहोमले २०७६ सालदेखि इन्टरनेट सेवामा हात हालेको थियो। सन् २०१० देखि २०२१९ सम्मको अवधिमा नेपालमा टीभी सेवाको विस्तार तीव्र बनेको थियो। यही समयमा नेपालमा बिजुलीको उपलब्धतामा सुधार आयो र बिजुलीको विस्तार पनि भयो। वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढेसँगै गाउँ गाउँमा टीभी पुग्ने क्रम पनि बढ्यो। सहरमा सीमित रहेको टीभी गाउँमा पनि त्यही समयमा पुग्यो। यही बेला डिशहोमले गाउँ गाउँमा सेवा दिएर विस्तारलाई तीव्र बनायो। तर पछिल्ला केही वर्ष त्यस्तो वृद्धिमा शिथिलता आयो।

प्रविधिमा भएको रूपान्तरण र उपभोक्ताको रुचिमा आएको परिवर्तनले टीभीको विस्तार पहिलेकै गतिमा नबढ्ने बुझेको कम्पनीले इन्टरनेटमा पनि हात हाल्यो। डिश मिडिया नेटवर्कले २०७६ सालको चैतमा इन्टरनेट सेवाप्रदायकको अनुमति लिएको थियो।यो बीचमा कम्पनीले ग्राहक संख्यामा राम्रै सुधार गरेको छ। डिशहोम फाइबरनेट सेवा अहिले देशका प्रमुख सहरमा पुगेको छ। फाइबरनेट अधिकांशमुख्य सहरमा पुग्नुका साथै अझै विस्तारकै क्रममा रहेको छ। यही क्रममा डिशहोमले ग्राहक संख्या पनि उल्लेखनीय सुधार गरेको छ। पूर्वाधार निर्माण सँगसँगै ३ लाखबढी ग्राहकसँगै दोस्रो स्थानमा पुगेको छ।पहिलो चरणको पूर्वाधार विस्तारको काम भएको र अब बजारीकरणको आधार तयार भएको आचार्यको बुझाइ छ। यसअघिका दुई वर्ष जसरी कम्पनीले पूर्वाधारमा काम गर्‍यो अबका पाँच वर्ष यसैगरी बजारीकरणमा काम गर्ने र ग्राहक संख्या विस्तारमा कम्पनीको ध्यान हुने आचार्यको भनाइ छ।

पछिल्लो समय इन्टरनेटमा गतिको वार चलिरहेको छ। सय, दुईसय एमबीपीएस भनेर सेवाप्रदायकहरू प्रतिस्पर्धामा उत्रिएका छन्। यो प्रतिस्पर्धाले कुनै फरक नपार्ने आचार्यको बुझाइ छ। गुणस्तरीय सेवा महसुस गर्ने र देखिने कुरा भएकाले यति र उति एमबीपीएसको भरमा ग्राहक नलाग्ने उनको भनाइ छ।

‘अहिलेसम्मको हाम्रो अनुभवले पनि यही देखाउँछ कि ग्राहक त्यसमा छैनन्। उनीहरू मूल्य र गुणस्तरमा केन्द्रित छन्। सस्तो मूल्यमा गुणस्तरीय सेवा जसले दिनसक्छ त्यसैमा जान्छन्’ आचार्यले भने।

बजारीकरण र उपभोक्ता आकर्षित गर्नका लागि डिशहोमलाई अरुको भन्दा केही सजिलो छ। अहिले देशभर ग्रामीण क्षेत्रसम्म डिशहोमको आफ्नै सञ्जाल छ। यही सञ्जाललाई इन्टरनेटको बजारीकरणमा पनि कम्पनीले परिचालन गर्ने छ।

इन्टरनेटमै कम्पनीले अहिलेसम्म २ अर्ब रूपैयाँभन्दा बढी लगानी गरिसकेको छ। १० लाख ग्राहक पुर्‍याएर नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक हुने महात्वकांक्षामा अघि बढेको कम्पनीले सेवासँग जोडिएर आउने डेटा सेन्टर लगायतका पूर्वाधारमा पनि लगानी गरेको छ।