सुर्खेत। आव २०७९र८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा कर्णाली प्रदेशका सबै पालिकालाई उछिनेर जाजरकोटको नलगाड नगरपालिका पहिलो भएको छ । नलगाड नगरपालिकाले सबैभन्दा बढी ८८ अंक ल्याएर पहिलो स्थान हासिल गरेको हो । पहिलो पटक नलगाड नगरपालिकाले उपसचिव मानबहादुर गिरीलाई प्रमुख प्रशाकीय अधिकृत पाएको थियो । त्यस्तै १३ स्थानीय तहले ८० अंक कटाएर डिस्टिङसन हासिल गरेका छन् ।

यो प्रदेशमा रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्ला छन् । १० जिल्लामा रहेका ८९ स्थानीय तहमध्ये १३ पालिकाले डिस्टिङसन हासिल गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको बिहीबारसार्वजनिक प्रतिवेदनअनुसार उनीहरुले डिस्टिङसन ल्याएका हुन् ।कर्णाली प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । यी सबैलाई उछिनेर जाजरकोटको नलगाड नगरपालिकाले सबैभन्दा बढी ८८ अंक ल्याएर पहिलो स्थान हासिल गरेको छ । योबाहेक १२ स्थानीय तहले ८० अंक कटाएर डिस्टिङसन ल्याएका हुन् ।

दैलेखका डुंगेश्वर गाउँपालिकाले ८५।५०, दुल्ली गाउँपालिकाले ८५।५०, भगवती गाउँपालिकाले ८५।५० र सुर्खेतको गुर्भाकोट नगरपालिकाले ८५ अंक ल्याएका छन् । यस्तै जुम्लाको कनका सुन्दरी गाउँपालिकाले ८४।५०, कालीकोटका नरहरिनाथ गाउँपालिकाले ८३।२५ र तिलगुफा नगरपालिकाले ८३ र डोल्पाको काइके गाउँपालिकाले ८३।२५ अंक ल्याएका छन् ।

पश्चिक रुकुमको त्रिवेणी गाउँपालिकाले ८२।५०, डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाले ८१।७५, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८०।५० र जुम्लाको हिमा गाउँपालिकाले ८०।५० अंक ल्याएका हुन् ।स्थानीय तहहरूले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको बिहीबार अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो ।

स्थानीय तहहरुको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिँदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रक्रियामा प्रतिस्पर्धा गराउने काम गर्छ ।