काठमाडौं । राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहमा हिन्दुहरुको महान धर्मग्रन्थ गीता हातमा लिएर कसम खाँदै राप्रपा र राप्रपा(संयुक्त)का अध्यक्षहरुले अब उप्रान्त पार्टी फुटाउने छैनौं र फुटाउन पनि दिने पनि छैनौं भन्दा उपस्थितसंगै देशभरका नेता, कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकमा आएको त्यो जोश जाँगर र उत्साह धेरै लामो सम्म टिक्न सकिरहेको छैन। विस्तारै निरासाको बादल मडारिन थालेको छ ।
पछिल्लो समयमा नेताहरु एकआपसमा मिल्न नकक्दा आम कार्यकर्तामा निरासाको बादल मडारिएको हो । त्योएकतालाई भावनात्मक एकताको रुपमा अगाडि लैजानको लागि के कुराले बाधा अड्चन गरेको छ वा पुर्याएको छ ? त्यो यतिबेला बुझिनसक्नुको पहेली बनेको छ । एकिकरणलाई निष्कर्षमा पुर्याउनुको सट्टा एकआपसमा आरोप प्रत्यारोपको अनन्त श्रृङ्खला शुरु भएको छ, जसलाई हामी स्पष्ट रुपमा देख्न सक्छौं । गीता छोएर कसम मात्र नखाएको भए केही समयअघि नै आ–आफ्नो बाटो लागि सक्ने थिए भन्दा अतिशयोक्ति नहुने परिस्थिति घाम जत्तिकै छर्लङ्ग देखिन्छ।
‘१२÷१५ वर्ष संघर्ष गरेर सबैले छोडेको र फालेको संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रलाई एजेन्डाको रुपमा स्थापित गराउन सफल भएको र हामीले यो अजेन्डा बोक्दा कहिले मारिने हो र कहा लखेटिने हो भन्ने अवस्थामा ज्यानको प्रवाह नगरी ठूलो संघर्ष र बलिदानबाट स्थापित गरिएको मूल मर्मलाई छोडेर अगाडि बढ्नु भनेको आम कार्यकर्ता र नेपाली जनतालाई धोका दिनु हो,’ भन्नुहुन्छ– कमल थापा । उहाँको भनाई छ– ‘बरु चुनाव चिन्हमा साथीभाईहरुसँग सल्लाह गरेर लचकता अपनाउला तर पार्टीको मुल नीति सिद्धान्तै छोडेर अगाडि जानु भनेको सरासर धोका हो र यसरी अगाडि बढ्नु गलत हुन्छ।’
त्यस्तै थापा निकट एक नेता भन्छन, ‘हिजो पटक पटक सत्तामा गयो, धर्म बेच्यो भनेर आरोप लगाउनेहरु अहिले पनि जीवितै छन र कमल थापाले कहाँ गल्ती गर्छ र फेरि सत्तोसराप गरौँ भनेर बसेका छन् र फेरि नीति सिद्धान्त र चुनाव चिन्हमा सम्झौता गर्यो भने तिनैले भन्नेछन– कमल थापाले गाई बेच्यो नीति सिद्धान्त बेच्यो भनेर ।’ उनी थप्छन–‘अहिले धर्म सड्ढटको अबस्था छ, जे गर्दा पनि आगामी यात्रा कठिन हुनेछ।’
‘हामी नीति सिद्धान्तमा अडिग छौँ। संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रमा हाम्रो कुनै दुविधा छैन । सिद्धान्तप्रति हाम्रो अबिचलित प्रतिबद्धता रहनेछ,बरु हामी समाप्त हुन तयार छौ, सिद्धान्त र बिचारलाई परित्याग गर्न नसक्ने दृढता थापाको छ ।
डा. प्रकाशचन्द्र लोहनी पनि भन्नुहुन्छ, ‘एकिकरणको विधि र प्रकृया मिलाएर अगाडि बढौं, हामी राप्रपा प्रवेश गर्ने होइन दुई पार्टी एकिकरण हो,सम्मानजनक एकिकरणको प्रकृयाबाट कसैको मान प्रतिष्ठा र स्वाभिमानमा ठेस नपुग्ने गरी एकिकरणको प्रकृयामा जाउँ।’ उहाँ थप्नुहुन्छ,‘एकता नै बल हो, एकताको बिकल्प छैन । विधि सम्मत रुपमा निर्वाचन आयोगमा जाऔं ।’
त्यसैगरी पशुपति शम्शेर राणा पनि जसरी पनि एकता प्रकृया टुङ्गोमा पुर्याउँ भन्नुहुन्छ । राणा भन्नुहुन्छ,‘जिन्दगीको उत्तरार्धमा मेरा धेरै ठुलो ईच्छा आकांक्षा छैनन् । यो पार्टीलाई एक गराएर सम्पूर्ण कार्यकर्ताको राजनैतिक भविष्य सूनिश्चित गराउने र वेथेतिमा चलेको देशलाई थितिमा ल्याउने हो ।’
नेताहरुले यसो भनिरहँदा एकथरि सानो समूह भने कुनै पनि हातलमा नेताहरुलाई मिल्न नदिने गतिबिधि सरिक भएको देखिन्छ । उनीहरुबाटै पार्टी मिल्न नहुने दबाब नेताहरुमाथि छ । हिजो तीन वटा पार्टी मिल्दा ठूल्ठूला पदहरुमा बसेकाहरु अब पार्टी एक भएपछि हिजोको हैसियत होला कि नहोला भनेर चिन्तित रहेका छन् । जिन्दगीमा कुनै तहको निर्वाचनमा भाग नलिनेहरु चुनाव चिन्हमा बढी बहस गरिरहेका छन् । चुनाब लड्न नपर्ने ,पार्टी संगठन र निर्माणमा कुनै भूमिका खेल्नु नपर्ने तर चुनाव चिन्हको बिषयलाई चाहिँ प्रतिष्ठाको बिषय बनाउन खोज्ने आधारबिहिन तर्क पनि यदाकदा उठिरहेका छन् ।कोही ठुला नेताले कहाँ गल्ती गर्छन र च्याप्प घाँटीमा समाउला भनेर ढुकेर बसेको पाइन्छ । केही ब्यक्ति कुन्ठा र पुर्बाग्रहको फोहरी आहालमा चुर्लुम्म डुब्न घिनाउँदैननर । एकोहोरो ब्यक्तिको निन्दामा रमाई रहेको पाईन्छ, जसले कुनै अर्थ राख्दैन। अहिलेको वास्तविक आवस्यकता के हो? मुकुकले ,कार्यकर्ताले,शुभचिन्तकले के अपेक्षा गरेका छन् , त्यसको कुनै समिक्षा र विश्लेषण नगरी एकोहोरो डम्फु बजाईले यो कहि नपुग्ने यात्रा बन्न जानेछ । गन्तब्य बिनाको यात्रा टुंगोमा पुग्दैन।
एकता नै बल हो । अब पनि एकता भएन भने नेता कार्यकर्ता मात्रै हैन यो धार नै समाप्त हुन्छ भनी चिन्ता गर्नुहुन्छ, नेता बुद्धिमान तामाङ्ग । व्यक्तिगत स्वार्थ भन्दा माथि उठी एजेन्डामा स्थापित हुने गरी अगाडि बढ्नुपर्ने भनाइ नेता तामाङ्गको रहेको छ ।
अर्का नेता दीपक बोहरा भन्नुहुन्छ– ‘पार्टी जसरी पनि मिल्छ । हामी मिलाउँछौं’ । कोही नेता कार्यकर्ता विचलित नहुन उहाँको आव्हान छ । तर उहाँले यसो भनिरहँदा एकताको गाँठो कहाँ बाँधिएको छ कसैलाई थाहा छैन् ।
यहाँनेर, गीता समाएर कसम खाएको सन्दर्भमा एउटा रमाइलो प्रसंग उल्लेख गर्दछु । झापामा एकजना सामाजिक व्यक्तित्वले अत्याधिक मादक पदार्थ सेवन गर्न थालेछन्। उनलाई कुलतबाट छुटकारा दिलाउन नजिकका साथीभाइले उनलाई इलामस्थित सानो पाथिभरा देवीको मन्दिरमा लिएर गएछन् । देवीको मन्दिर छुन लगाउँदै अब उप्रान्त मदिरा सेवन नगर्ने कसम खान लगाएछन् । र ती व्यक्तिले पनि अवदेखि जाँड रक्सी खान्न हे पाथिभरा देवी भनेर कसम खाएर फर्किएछन । दिन बित्दै गयो, हप्ता महिना हुँदै छ महिना बितेछ । त्यस बिचमा ती व्यक्तिलाई मादक पदार्थ खान अधिक ईच्छा भएछ । बेकारमा मन्दिरमा गएर कसम खाइएछ भनेर ठुलो पछुतो भएछ । त्यसपछि आफ्ना निकटकाहरुसँग सल्लाह गरेछन र फेरी सोही सानो पाथिभरा मन्दिरमा गएछन र मैले नखाइ सकिन माफ पाउँ माता भनेर फेरी रक्सी खान थालेछन।
यस्तै अब पनि पार्टी एकिकरणलाई टुंगोमा नपुर्याउने हो भने हाम्रा नेताहरुले राष्ट्रिय सभागृहमा गएर, मान्छे बोलाएर गीता समाएर गल्ती भएछ भन्दै आआफ्नो बाटो लाग्नुपर्यो । होइन भने, आआफ्नो हठ छोडेर त्यागको राजनीति सुरु गर्नुपर्यो । यसैमा सबैको भलो छ । इतिहासले कहिल्यै क्षमा नगर्ने बाटो प्रत्युत्पादक हुनेछ ।

(लेखक :- गोपाल पौडेल ,केन्द्रिय सदस्य,राप्रपा )