जुम्ला । कैलाली घर बताउने चार बालबालिका अलपत्र परेका छन् । अहिले उनिहरू जुम्ला पुगेका छन् । १७ वर्षीया मधु विक, १६ वर्षीया गिता विक, ९ वर्षीय नविन विक र ३ वर्षीय आशीष विक जुम्लाको सदरमुकाम खलङ्गा पुगेका हुन्‌।

१७ वर्षिया मधु विक भन्छिन्‌, ‘हामी सवै जना इण्डियाको पञ्चाबमा जन्मेका हौँ। नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ। तर कैलालीमा पनि कुन ठाउँ कुन टोल हो, केही पनि थाहा छैन।’ भाई आशिष जन्मेको एक महिनामै आमा सपना विकको निधन भएको र आमाको निधनपछि बाबु सन्तोष विकले अर्की महिला लिएर भागेको ती बालबालिकाले बताएका छन्‌। त्यसपछि आफूहरू भारतमै बिचल्लीमा परेको र मजदुरी गरेर एक महिनाको भाईलाई हुर्काएको मधुले जानकारी दिएकी छिन्‌।

भारतमा कोरोना संक्रमण फैलिएपछि मजदुरी गर्ने पनि ठाउँ नभएकाले आफूहरू पनि पनि कैलाली आएको उनीहरूले बताएका छन्‌। कैलालीमा पनि घर जग्गा बाबाले बेचविखन गरेको थाहा पाएपछि उनीहरू नेपालगञ्ज, सुर्खेत हुँदै दुई साताअघि जुम्ला आइपुगेका हुन्‌।

जुम्ला पुगेको २र४ दिनपछि चन्दननाथ नगरपालिका(७ महतगाउँस्थित जनता माध्यमिक विद्यालयको भवन निर्माण गर्ने मजदुरका लागि खाना पकाउने काम गरेबापत दिनको पाँच सय रुपैयाँ पाएको र सोही आम्दानीबाट विहान बेलुकीको छाक टार्ने गरिएको मधुले जानकारी दिइन्‌।

बालबालिका बिचल्लीमा परेको थाहा पाएपछि चन्दननाथ नगरपालिका(६ विजयनगरका समाज सेवी छिरिङ ल्यामु तामाङले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गरेकी हुन्‌।

जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि बालबालिकाको उद्धार भएको छ। प्रहरी नायव उपरीक्षक माधव काफ्लेले बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएपछि उद्धार गरिएको जानकारी दिए। बालबालिकाको पृष्ठभूमिबारे विस्तृत अध्ययन गर्ने काम भइरहेको उनले बताए। उद्धार गरिएका बालबालिकाहरूलाई अहिले अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ। उनीहरूको स्वास्थ्य परीक्षण पनि भएको छ।

बालबालिकाले अझै आफ्नो स्थानीय ठेगाना र अभिभावकको नाम बताउन सकेका छैनन्‌। अल्पकालिन सेवा केन्द्र अध्यक्ष भगवती श्रेष्ठका अनुसार दुई बालबालिका किशोरावयमा भएकाले यौन दुर्व्यवहारमा पर्नेसक्ने खतरा रहेकाले सुरक्षितसाथ राख्ने व्यवस्था मिलाइएको हो। उनले भनिन्‌, ‘उनीहरू लामो समयदेखि अभिभावक विहिन अवस्थामा छन्‌, यी बालबालिकाका लागि राज्य नै अभिभावक हो। राज्यले नै अभिभावकत्व ग्रहण गर्नुपर्छ।’