सुर्खेत । सुर्खेत वीरेन्द्रनगर ११ पिपरामा घरमा नै मृत्यु भएकी ३५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको छ । मंगलबार घरमा नै मृत्यु भएकी महिलाको मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

मंगलबार मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट बिहीबार पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले पुष्टि गरे । ‘घरमा नै मृत्यु भएकी महिलाको पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको थियो,’ उनले भने, ‘पोस्टमार्टम गर्नुअघि कोरोना परीक्षण गरिएकाले रिपोर्ट पोजिटिभ आएको हो ।’

मृत्यु भएकी महिलाका ६० वर्षीया श्रीमानमा उच्च ज्वरोका कारणले मृत्यु भएको थियो । उनको स्थानीय संस्कारअनुसार दाहसंस्कार गरिएको स्थानीयले बताए ।

कोरोना पोजिटिभ देखिएकी महिलाको बिहीबार नै नेपाली सेनाले दाहसंस्कार गरेको छ ।