सुर्खेत । नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सहकार्यमा सुर्खेतको बयालकाँडा गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुर्नःनिर्माण गर्ने भएको छ । नेपाली सेनाले ऐतिहासिक महत्व बोके सुर्खेत र दैलेका गढीको संरक्षण तथा पुर्नः निर्माण अभियान थालेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ गोठीकाँडामा अवस्थित बयालकाँडा गढी ५ कट्ठा १३ धुर जग्गामा गढी रहेको त्यसको पुर्नः निर्माण तथा संरक्षण स्थानीय सरकारको सहयोगमा गरिने नेपाली सेना उत्तरपश्चिम पृतनापतिको कार्यालयले जनाएको छ ।
नेपाल एकीकरणको दौरान बयालकाँडा क्षेत्रमा सुरक्षाको लागि बहादुर शाहले गोर्खाली फौजले गढी निर्माण गरेको उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डेले जानकारी दिए ।
नेपाली सेनाले चालु आर्थिक वर्षमा बयलकाँडा गढी संरक्षणको लागि ५ लाख रुपैयाँ छुट्याए र उक्त बजेटबाट गढी संरक्षणबारे अन्तरक्रिया, स्थलगत अध्ययन र गढीको डिजाइन बनाउने काम भएको पृतनापति पाण्डेले बताए ।
त्यस्तै, बहादुर शाहकै पालामा निर्माण भएको दैलेख नारायण नगरपालिका–९ पुरानो बजारमा रहेको कोतगढीको पनि पुर्नः निर्माण र संरक्षण गरिने पृतनापति पाण्डेले बताए । ‘कर्णाली प्रदेशमा रहेका अहिले पुरातात्विक महत्वको दुई वटा गढी स्थानीय तहको सहकार्यमा निर्माण गर्न लागेका छौं ।’ उनले भने,‘कर्णालीका अन्य क्षेत्रका रहेका गढीहरुको खोजी भइरहेको छ ।’
स्थानीय तह र नेपाली सेनाले गढीको संरक्षण गर्न लागेकोमा स्थानीयबासीले खुसी व्यक्त गरे । दैलेखमा तत्कालीन समयमा गरिने युद्धकलाको निकै पुरानो इतिहासका बारेमा जानकारी लिन जोकोहीलाई पनि गढीको महत्व हुने स्थानीयवासी गणेश रेग्मीले बताए । ‘दैलेख युद्ध पर्यटनको अर्को महत्वपूर्ण पाटो हुन सक्छ । गढीको खोज अनुसन्धान लगायतका अन्य कुरा गर्न सके यसको अनुसन्धानका लागि मात्रै धेरै विदेशी आउन सक्ने सम्भावना रहेको छ ।’ उनले भने,‘इतिहासको संरक्षण नगरी भविष्यको बारे जानकारी पाउन पनि सकिदैन् ।’
बयलकाँडा गढी पुनर्निर्माण कार्यलाई गोठीकाँडाको पर्यटकीय विकाससँग जोड्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले बताए । ‘नगरपालिकाले पार्क, धार्मिकस्थल पुनर्निर्माण र पर्यटकीय पूर्वाधारका काम गरिरहेको छ ।’ उनले भने, ‘नेपाली सेनाले गढी पुनर्निर्माण र संरक्षणको काम थालेपछि हाम्रो अभियानमा थप टेवा पुगेको छ ।’