सुर्खेत । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी होऔं, समयमै स्वास्थ्य बिमा गरौँ भन्ने मूल नाराका साथ मेहलकुना अस्पतालले सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। अति गरिब, अशक्त अपाङ्ग रातो कार्ड, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल क्षयरोग एम.डि.आर, टि. बि बिरामी र ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको लागि स्वास्थ्य बिमा शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ।

साथै, महिला स्वास्थ्य स्वयंसेवीका संलग्न भारको परिवारका लागि ५० प्रतिशत छुटको सुविधा पनि उपलब्ध रहेको बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. सोजन सापकोटाले जानकारी दिए । डा. सापकोटाका अनुसार, स्वास्थ्य बिमामा सहभागी भएका व्यक्तिहरूले सूचिकृत स्वास्थ्य संस्थाहरूबाट नियमअनुसार सेवा लिन सक्नेछन्। आवश्यक परेमा प्रेषण रीफर को पनि व्यवस्था गरिएको छ।

बिमा दर्ता र नवीकरणका लागि प्रत्येक वडामा रहेका स्वास्थ्य बिमा दर्ता सहयोगीहरू मार्फत सजिलै सहभागी हुन सकिन्छ। अनलाइन माध्यम जस्तै कनेक्ट आईपीएस, ईसेवा, खल्ती, मार्फत पनि बिमा नवीकरण गर्न सकिने छ।मेहलकुना अस्पतालले २०७४ सालदेखि निरन्तर स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गर्दै आएको छ। हाल अस्पतालमा आउने बिरामीहरू मध्ये ६० देखि ७० प्रतिशत बिरामी स्वास्थ्य बिमाका रहेका छन्।

अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरूको केही समस्याहरूलाई सम्बोधन गर्दै समाधान गर्ने प्रयास गरिरहेको जानकारी गराएको छ। स्वास्थ्य बिमा कार्यक्रमले धेरै फाइदा पुर्‍याउने हुँदा सबै सेवाग्राहीहरूलाई यसमा सहभागी हुन अनुरोध गरिएको छ।

साथै हालसालै बीमा बोर्डबाट २५ शैया वा सो भन्दा माथिको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा सुविधा लिँदा खर्चको १० प्रतिशत सेवाग्राहीबाट उठाउनुपर्ने निर्देशन आएको जानकारी पनि दिइएको छ। यसबारे विस्तृत जानकारी पछि उपलब्ध गराइने  बताएकाे छ ।