डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ अन्तर्गत निर्माणाधीन जिउँ–खोरखोला सडक समयअगावै सम्पन्न हुने भएको छ। निर्माण कम्पनी जिटी कन्स्ट्रक्सन सुर्खेतले निर्धारित समय बाँकी रहँदै सडक निर्माण अन्तिम चरणमा पुगेको जनाएको हो।
पूर्वाधार विकास कार्यालय डोल्पाका अनुसार जिउँबाट ठूलीभेरी नगरपालिकाको जुफाल तथा त्रिपुरासुन्दरी नगरपालिका–४ को रङ जोड्ने करिब ८ किलोमिटर लामो सडक निर्माण तीव्र गतिमा भइरहेको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बजेटमा निर्माण सुरु गरिएको उक्त सडकका लागि जिटी कन्स्ट्रक्सन सुर्खेतसँग २०८१ असार १८ गते ४ करोड ४५ लाख रुपैयाँमा सम्झौता गरिएको थियो।
पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टेक हितानले निर्माण कम्पनीले कठिन भूगोल र कडा चट्टान भएका क्षेत्रमा समेत ब्रेकर प्रयोग गरेर तीव्र गतिमा काम गरेको बताए। “निर्माणको समय बाँकी रहँदै सडक सम्पन्नतर्फ पुग्नु सकारात्मक कुरा हो,” उनले भने, “यसले कार्यालयको कार्यसम्पादनमा पनि राम्रो सुरुवात भएको संकेत गरेको छ।”
स्थानीयस्तरमा निकै चासोका साथ हेरिएको यो सडकले त्रिपुरासुन्दरीको रङ, सुँ, जिउँ हुँदै जुफालसम्मको यातायात पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ। सडक निर्माणसँगै कृषकलाई बजारसँग जोडिन र दैनिक आवतजावत सहज हुने विश्वास स्थानीयवासीको छ।

स्थानीयहरूले ट्र्याक खुलेपछि खुसी व्यक्त गर्दै सडकलाई दीर्घकालीन र सुरक्षित रूपमा सञ्चालन हुने गरी स्तरोन्नति गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन्।
जिटी कन्स्ट्रक्सन सुर्खेतका आयोजना पदाधिकारी बलबहादुर ओलीले ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको र केही स्थानमा ग्रेड मिलाउने काम बाँकी रहेको जानकारी दिए। “सवारीसाधन सहज रूपमा सञ्चालन हुने गरी सडक निर्माण गरेर जिम्मा लगाउँछौं,” उनले भने।

सडक निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०८३ असार मसान्त तोकिएको भए पनि निर्माण कम्पनीले सो समयभन्दा अगावै काम सक्ने तयारी गरेको जनाएको छ।
यस सडक निर्माणका लागि आर्थिक वर्ष २०८१/०८२ मा तत्कालीन भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री उर्मिला विश्वकर्मा को विशेष पहलमा ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।












प्रतिक्रिया दिनुहोस्