सुर्खेत ।
विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा इलाम देखि सुरु भएको १८ दिने साइकल यात्रा गर्दै ४० सदस्यीय टोली सुर्खेत आइपुगेको छ ।

दोलखा घर भएका यात्री पुष्करले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि साइकल यात्रा गरिएको बताए । ‘सम्वन्ध जोडदै देश घुमौं भनेर अवको पर्यटन साइकल बाट सम्भव छ भनेर लागेका छौं ।’ उनले भने, ‘हामी इलाम देखि चालीस जना आएका छौं आज फेरी काठमाडौं, चितवन, हेटौंडा, धनगढीबाट २५ जना थपिन लाग्नु भएको छ ।

पर्यटन दिवसको अवसर पारेर सुर्खेत आइपुगेको टोलीलाई कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मन्त्रालयमा स्वागत गरेका छन् । ‘यहाँहरु पर्यटन क्षेत्रको प्रवृद्धन गर्नकालागि कर्णाली जस्तो भर्जिन ल्याण्डमा आउनु भएको छ । यहाँका हरेक सम्पदाहरु, भुगोल र परम्पराहरु पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् । यहाँहरु मार्फत कम्तिमा एकपटक कर्णाली आउन पर्यटकलाई आव्हान गर्दछु ।’ साइकलयात्री शाहीले दिएको साँचो ग्रहण गर्दै उनले भने, ‘यो साँचोले कर्णालीको पर्यटनको ढोका खोल्नेमा आशावादी छौं ।’

उनले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको जानकारी दिदैं पर्यटनको विकासका लागि के गर्न आवश्यक छ भन्ने बारेमा सरकारलाई सुझाव दिन सायकलयात्रीलाई आग्रह समेत गरेका छन् ।