सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्रिकेटको रौनक छाएको छ। सुर्खेतस्थित घण्टाघर डबलीमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेलको प्रत्यक्ष प्रसारण हेर्न ५ हजारभन्दा बढी दर्शक भेला हुने छन्।

नेपाल प्रिमियर लिग सुरु भएसँगै क्रिकेटप्रेमीमा उत्साह बढेको छ। विशेषगरी आफ्नो प्रदेशको प्रतिनिधित्व गर्ने टोली कर्णाली याक्सको खेल हेर्न सुर्खेतमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको हो। ठूलो स्क्रिनमार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्न जम्मा भएका दर्शकले खेलस्थलको वातावरणलाई उत्सवमय बनाएका छन्।

एकै ठाउँमा हजारौँ दर्शक, क्रिकेटप्रति बढ्दो आकर्षण

एक्स्ट्रिम इनर्जी ड्रिंकको आयोजनामा सुर्खेतसहित देशका विभिन्न सात स्थानमा निःशुल्क ठूलो स्क्रिनमार्फत एनपीएलको प्रत्यक्ष प्रसारण भइरहेको छ। यसले क्रिकेटप्रेमीलाई सामूहिक रूपमा खेल हेर्ने अवसर प्रदान गरेको छ।

प्रत्यक्ष प्रसारणसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उत्पादनको प्रदर्शनी तथा प्रचारात्मक स्टल राख्नुका साथै दर्शकका लागि विभिन्न गिफ्ट ह्याम्परको व्यवस्थासमेत गरेको छ। खेलको रोमाञ्चसँगै मनोरञ्जनात्मक गतिविधि समावेश गरिएकाले कार्यक्रमप्रति दर्शकको आकर्षण थप बढेको आयोजकको भनाइ छ।

कार्यक्रम सञ्चालक कुमार शमशेर थापाका अनुसार पहिलो दिनको तुलनामा दोस्रो दिन दर्शकको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ। पहिलो दिनको खेल हेर्न करिब २ हजारदेखि ३ हजार दर्शक उपस्थित भएका थिए भने कर्णाली याक्सको खेल भएका कारण दोस्रो दिन ५ हजारभन्दा बढी दर्शक सहभागी हुने भएको उनले बताए।

कर्णाली याक्सप्रति दर्शकको विशेष माया

कर्णाली प्रदेशको नामबाट राष्ट्रिय प्रतियोगितामा सहभागी कर्णाली याक्सप्रति स्थानीय खेलप्रेमीको विशेष लगाव देखिएको छ। आफ्नो प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई समर्थन गर्न दर्शकहरू ठूलो संख्यामा उपस्थित हुने भएका हुन्।

थापाले कर्णालीका खेलप्रेमीले आफ्नो टोलीलाई सधैँ माया गर्दै आएको उल्लेख गर्दै आजको खेलसँगै प्रत्यक्ष प्रसारण कार्यक्रम भव्य बनेको बताए। खेलको प्रत्यक्ष प्रसारणसँगै दर्शकका लागि अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत राखिएको उनले जानकारी दिए।

उनका अनुसार एक्स्ट्रिम इनर्जी ड्रिंकको पहलले सुर्खेतमा यति ठूलो स्तरको सामूहिक क्रिकेट अवलोकन कार्यक्रम सम्भव भएको छ। यसले कर्णालीमा क्रिकेटप्रतिको आकर्षण र खेलकुदसँग जोडिने सामूहिक उत्साहलाई थप उजागर गरेको छ।

कर्णालीमा क्रिकेटको बढ्दो क्रेज

नेपाल प्रिमियर लिगले देशभर क्रिकेटको माहोल सिर्जना गरिरहेका बेला सुर्खेतमा देखिएको दर्शकको उपस्थितिले कर्णालीमा पनि क्रिकेटप्रतिको आकर्षण बलियो रहेको संकेत गरेको छ। ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण हेर्न हजारौँ दर्शक जुट्नुले क्रिकेट केवल खेलमा सीमित नरही मनोरञ्जन र सामूहिक उत्सवको माध्यमसमेत बनेको देखाउँछ।

कर्णाली याक्सको खेलमा दर्शकको उल्लेख्य सहभागिताले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन, क्रिकेटप्रतिको रुचि विस्तार तथा प्रदेशको खेल पहिचानलाई थप बलियो बनाउन सक्ने देखिन्छ।

एनपीएलको रौनकसँगै सुर्खेतको घण्टाघर डबलीमा देखिएको यो उत्साहले कर्णालीमा क्रिकेटको सम्भावना र दर्शकको समर्थनलाई एकपटक फेरि चर्चामा ल्याएको छ।