सुर्खेत। नवौँ राष्ट्रिय खेलकुद पोखरामा सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी कर्णाली प्रदेशमा हस्तान्तरण हुँदा कर्णाली उत्साहित बनेको थियो। पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा तत्कालीन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले राष्ट्रिय खेलकुदको झण्डा ग्रहण गर्दै कर्णाली दशौँ राष्ट्रिय खेलकुदका लागि तयार रहेको सन्देश दिएका थिए।

त्यसपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको कर्णाली प्रदेश रंगशालाको कामले पनि गति लियो। रंगशालाको निर्माणसँगै कर्णाली दशौँ राष्ट्रिय खेलकुदलाई भव्य रूपमा स्वागत गर्ने तयारीमा अघि बढिरहेको थियो। तर, पटक-पटकको राजनीतिक फेरबदल र आयोजनाको मिति तथा व्यवस्थापनसँग जोडिएका अन्य कारणले प्रतियोगिता निर्धारित समयमा हुन नसकेपछि कर्णालीको तयारी अन्योलमा परेको थियो।

राष्ट्रिय खेलकुद नेपाली खेलाडीका लागि प्रतिस्पर्धाको एउटा अवसर मात्र होइन, खेलप्रेमी र आम नागरिकका लागि पनि एउटा ठूलो राष्ट्रिय पर्वका रूपमा स्थापित हुँदै आएको छ। देशका विभिन्न प्रदेश तथा जिल्लाबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल पदाधिकारी र खेलप्रेमीहरू एकै ठाउँमा भेला हुने भएकाले यस्तो प्रतियोगिता आयोजक प्रदेशका लागि खेलकुदसँगै पर्यटन, संस्कृति र सामाजिक अन्तरसम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर पनि बन्न सक्छ।

दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुनु भनेको देशका विभिन्न भूगोलका नागरिकलाई कर्णालीसँग प्रत्यक्ष जोड्ने अवसरसमेत हो। मधेशदेखि हिमाली जिल्लासम्मका खेलाडी तथा खेलप्रेमी कर्णालीमा आउने र यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति तथा जीवनशैलीसँग परिचित हुने सम्भावना छ। त्यस्तै, विभिन्न प्रदेशका खेलाडीले राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आफ्नो प्रदेशलाई चिनाउने अवसर प्राप्त गर्नेछन्।

तर, यति ठूलो राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि चुनौतीपूर्ण पनि छ। खेलस्थल, पर्याप्त कभर्ड हल, यातायात, आवास, स्वास्थ्य सेवा तथा अन्य आवश्यक पूर्वाधारको उपलब्धता र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने विषय अझै महत्वपूर्ण प्रश्नका रूपमा रहेका छन्। विशेषगरी कर्णाली प्रदेश रंगशाला समयमै पूर्ण रूपमा हस्तान्तरण हुन नसक्दा निर्माण भइसकेका केही पूर्वाधारको संरक्षण र पुनः लगानीको विषयसमेत उठ्न थालेको छ। रंगशाला हस्तान्तरण नहुँदै पुनः मर्मत तथा सुधारमा लगानी गर्नुपर्ने अवस्था आएमा त्यसले आयोजनाको व्यवस्थापनमा थप आर्थिक भार सिर्जना गर्न सक्ने देखिन्छ।

३२ खेल समावेश, खेलस्थल छनोटमा मापदण्डको प्रश्न

दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश गर्ने प्रस्ताव गरिएको छ। कर्णाली प्रदेश खेलकुद परिषद्ले विभिन्न खेलका लागि खेलस्थलसमेत सिफारिस गरेको छ। तर, खेलस्थल छनोट गर्दा सम्बन्धित खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक मापदण्डलाई पर्याप्त ध्यान दिइएको वा नदिइएको विषयमा केही खेल संघका प्रतिनिधिहरूले प्रश्न उठाएका छन्।

यही विषयमा राष्ट्रिय खेलकुद परिषद्को दशौँ राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिको टोलीले २०८३ असोज १४ गते प्रस्तावित खेलस्थलहरूको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा सम्बन्धित खेल संघका प्रतिनिधिहरूलाई समेत सहभागी गराइएको थियो।

कर्णाली प्रदेश रंगशालामा बसेको छलफलमा विभिन्न खेल संघका प्रतिनिधिहरूले आफ्नो–आफ्नो खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार, प्राविधिक पक्ष र खेलस्थलको मापदण्डबारे धारणा राखेका थिए। छलफलमा सहभागी अधिकांश प्रतिनिधिको जोड एउटै विषयमा थियो। खेलस्थल तोक्दा केवल उपलब्ध पूर्वाधारलाई आधार नबनाई सम्बन्धित खेलको प्राविधिक तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय मापदण्डलाई समेत आधार बनाउनुपर्ने। प्रतिनिधिहरूले खेलस्थल सिफारिस भइसके पनि कतिपय स्थानमा सम्बन्धित खेलको प्राविधिक आवश्यकता पूरा नहुने अवस्था रहेको भन्दै त्यसबारे पुनः अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।

‘टेबल टेनिस खेलाडीका लागि मात्र होइन, खेलप्रेमी र नयाँ पुस्ताका लागि पनि हो’

छलफलमा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष मनिष गहतराजले टेबल टेनिसको खेलस्थल र आयोजनाको विषयमा आफ्नो धारणा राखेका थिए। गहतराजले टेबल टेनिसलाई केवल एउटा खेलका रूपमा मात्र हेर्न नहुने बताए। उनका अनुसार प्रत्येक खेलाडीले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिनिधित्व गर्ने र अन्ततः ओलम्पिकजस्तो विश्वस्तरीय मञ्चमा पुग्ने सपना बोकेको हुन्छ।

उनले नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा टेबल टेनिसमार्फत उपलब्धि हासिल गर्दै आएको उल्लेख गर्दै पेरिस ओलम्पिक २०२४ मा नेपालबाट सहभागी खेलमध्ये टेबल टेनिस पनि एक रहेको स्मरण गराए।

उनको भनाइमा, राष्ट्रिय खेलकुद खेलाडी उत्पादन र प्रतिस्पर्धाका लागि मात्र सीमित हुनु हुँदैन। यस्ता प्रतियोगिताले आम नागरिक, विद्यार्थी र नयाँ पुस्तालाई खेलसँग प्रत्यक्ष जोड्ने वातावरण पनि निर्माण गर्नुपर्छ। “दशौँ राष्ट्रिय खेलकुद खेलाडीका लागि मात्र होइन, खेलप्रेमी जनता र युवा पुस्ताका लागि पनि हो,” गहतराजको भनाइ थियो, “धेरै विद्यार्थी र युवाले आफ्ना आदर्श खेलाडीलाई प्रत्यक्ष मैदानमा खेलिरहेको पहिलोपटक देख्ने र त्यसबाट प्रेरणा लिने अवसर पाउँछन्।”

उनले नेपालका सफल टेबल टेनिस खेलाडी नविता श्रेष्ठ, ओलम्पियन स्यान्टु श्रेष्ठ लगायतका खेलाडीलाई नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गर्न सकिने बताए।

सुर्खेतमा टेबल टेनिस आयोजना गर्नुपर्ने तर्क

गहतराजले दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत टेबल टेनिस प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमै आयोजना गर्नुपर्ने धारणा राखे। उनका अनुसार टेबल टेनिसमा मात्रै करिब १८८ खेलाडी सहभागी हुने र खेल संघसँग सम्बन्धित पदाधिकारी, प्रशिक्षक, व्यवस्थापक तथा अन्य प्राविधिक जनशक्ति गरी ठूलो संख्यामा मानिसको उपस्थिति हुने भएकाले खेलस्थलसँगै आवास, स्वास्थ्य सेवा र यातायातको व्यवस्था महत्वपूर्ण हुन्छ। उनले प्रतियोगिताका क्रममा देशका विभिन्न भागबाट खेलाडी तथा खेलप्रेमी आउने भएकाले राजधानी वीरेन्द्रनगरमा पर्याप्त आवास, अस्पताल तथा अन्य आवश्यक सेवाको पहुँचलाई समेत ध्यान दिनुपर्ने बताए।

त्यस्तै, राष्ट्रिय खेलकुदमा नेपालबाहेक एनआरएनएको टोलीसमेत टेबल टेनिसमा सहभागी हुने भएकाले खेलस्थल तथा समग्र व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने उनको भनाइ थियो।

गहतराजले राजधानीमा खेल आयोजना गर्दा कर्णालीका विभिन्न जिल्ला तथा विद्यालयबाट विद्यार्थी र खेलप्रेमीलाई प्रतियोगिता हेर्न आउने वातावरण बन्ने बताए। यसले कर्णालीमा खेलकुदप्रति नयाँ पुस्ताको आकर्षण बढाउन सक्ने उनको धारणा थियो।

“राष्ट्रिय खेलकुद खेलाडीका लागि मात्र होइन, हजारौँ खेलप्रेमी र युवालाई जोड्ने अवसर पनि हो। त्यसैले खेलस्थल छनोट गर्दा खेलाडीको सुविधा मात्र होइन, दर्शक, विद्यार्थी, आवास, स्वास्थ्य, यातायात र खेलको प्राविधिक मापदण्डलाई पनि समान रूपमा हेर्नुपर्छ,” गहतराजले जोड दिए।

संघका प्रतिनिधिले राखे आ-आफ्ना सुझाव

प्राविधिक उपसमितिसँगको छलफलमा विभिन्न खेल संघका प्रतिनिधिहरूले पनि आफ्नो खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार, खेलस्थलको अवस्था, प्राविधिक मापदण्ड, खेलाडीको आवास तथा अन्य व्यवस्थापनका विषयमा सुझाव दिएका थिए। प्रतिनिधिहरूले राष्ट्रिय खेलकुदजस्तो ठूलो प्रतियोगितामा हतारमा खेलस्थल तोक्नुको सट्टा सम्बन्धित खेल संघसँग प्राविधिक छलफल गरेर अन्तिम निर्णय लिनुपर्नेमा जोड दिएका थिए।

छलफलको अन्त्यमा दशौँ राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिका संयोजक धनिराम चौधरीले खेल संघका प्रतिनिधिहरूबाट प्राप्त सुझावलाई सम्बन्धित निकायमा जस्ताको तस्तै प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।

अब दशौँ राष्ट्रिय खेलकुदको तयारीमा कर्णालीका लागि मुख्य प्रश्न केवल प्रतियोगिता आयोजना गर्ने भन्नेमा सीमित छैन। कुन खेल कहाँ, कुन पूर्वाधारमा र कुन मापदण्डअनुसार आयोजना गर्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण बनेको छ।

कर्णालीले दशौँ राष्ट्रिय खेलकुदलाई आफ्नो खेलकुद क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा हेरिरहेको अवस्थामा अब आयोजनाको सफलता खेलाडीको सहभागिता मात्र नभई उपयुक्त खेलस्थल, गुणस्तरीय पूर्वाधार, सुरक्षित आवास, स्वास्थ्य सेवा, यातायात र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल व्यवस्थापनमा निर्भर रहनेछ।