काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय दमौलीको टोलीले आफूलाई नियन्त्रणमा लिएको पौडेलले बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाईसमेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् ।’

पुल उद्घाटनका लागि उनी गृहजिल्ला तनहुँ पुगेका थिए । निषेधाज्ञा उल्लंघन गरेको भन्दै कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएर पौडेललाई जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ । पौडेलसहित तनहुँका कार्यवाहक जिल्ला सभापति जित ओलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भएको के थियो ?

ब्यास नगरपालिकाले बनाएको मोटरेबल पुल उद्घाटन गर्न पौडेल तनहुँ पुगेका थिए । तर, नेकपाका स्थानीय नेता, कार्यकर्ताले पौडेललाई पुल उद्घाटन गर्न अवरोध गरेपछि विवाद भयो । यही क्रममा सदरमुकाम दमौलीमा नेकपाले प्रर्दशन सुरू गरेपछि स्थानीय प्रशासनले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा उल्लंघन गरी भीडभाड गरेको भन्दै पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।