सुर्खेत । मेहेलकुना अस्पतालको नयाँ भवन निर्माण कार्य संघीय सरकारले सुरु गरेको भएता पनि, विभिन्न कारणले यो योजना पटकपटक ढिलाइ हुँदै आएको छ। २०७३ सालमा सुरु हुनुपर्ने यो भवन निर्माण कार्य जग्गा विवादका कारण एक वर्ष ढिलो भएर २०७४ मा मात्र सुरु भयो। यो भवन निर्माण कार्य २०७७ मा पूरा हुने अपेक्षा गरिएको थियो, तर कोरोना भाइरस महामारीका कारण एक वर्ष म्याद थप्नुपर्‍यो। त्यसपछि २०७८ सालदेखि पटकपटक ६ / ६ महिनाको म्याद थपिएर हाल अन्तिम पटक २०८१ सालको पौष महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अस्पताल भवन निर्माणको अवस्थाबारे जानकारी दिनुहुँदै डा. सोजन सापकोटाले बताए अनुसार, ठेकेदारले गत फागुन र चैत महिनामा काम गरेको देखाएर रकम निकासा गरिसके पनि त्यसपछि कामदारहरूले काममा निरन्तरता दिएनन्। २०८१ सालको बैशाखमा पुनः म्याद थप गरिएपछि पनि जेठ र असार महिनामा कुनै पनि कामदार उपस्थित भएनन्। अस्पतालले पुनः पत्राचार गरेपछि मात्र साउनदेखि केही कामदार उपस्थित भएका छन्। हालसम्म जम्मा १३ जना कामदार मात्र कार्यरत छन्, जसमा ४ जनाले टाइल छाप्ने काम गरेका छन् भने बाँकी ९ जनाले प्लास्टर गर्ने काम गरिरहेका छन्। ती कामदारहरूले अनियमित रूपमा काम गर्दै आएको कारणले काममा कुनै सन्तोषजनक प्रगति भएको छैन। अस्पतालको अर्को भवन पनि निर्माण हुन बाँकी छ।

जनताले यो ढिलाइका कारण स्वास्थ्य सेवामा निकै कठिनाइ भोगिरहेका छन्। डा. सापकोटाका अनुसार, अस्पतालमा ५० बेडको क्षमता घोषणा गरिए पनि हालसम्म २४ बेडको सेवा मात्र सञ्चालनमा छ। ७३ सालमा ५० बेडको अस्पताल घोषणा गरियो, तर अझैसम्म पनि यो घोषणा कागजमा मात्र सीमित छ, डा. सापकोटाले भने।

सापकोटाले अस्पतालको निर्माण कार्यमा ढिलाइका कारण जनताले आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको र अस्पतालको अवस्थाले स्वास्थ्यकर्मीहरूलाई काम गर्न अप्ठेरो पारेको बताए। म यहाँ आएको ४ वर्ष भयो, तर न त कुनै काम गर्ने वातावरण छ, न त कुनै स्रोत साधन। ५० बेडको अस्पताल भनिएको छ, तर हामी २४ बेडमा मात्र काम गरिरहेका छौं,उनले बताए।

स्थानीय सरकारले स्वास्थ्य सेवा सुधारका लागि सहयोग गर्नुपर्ने ठाउँमा उल्टै राजनीति गरेर काममा बाधा पुर्याइरहेको सापकोटाको आरोप छ। उनले संघीयता लागू भएपछि स्वास्थ्य सेवामा उत्पन्न भएका समस्याहरूको समाधान गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन्। हामी स्वास्थ्यकर्मीलाई साथ र सहयोग गर्नुपर्छ, उनले भने।