सुर्खेत— भेरी १ अर्धजलाशययुक्त पि आर आे आर जलविद्युत् आयोजना २७० मेगावाटको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम नलगाड नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।

कार्यक्रम ०७ गते नलगाड नगरपालिका वडा नं १२ तल्लुवगरमा पुनः सम्पन्न हुने जानकारी प्राप्त भएको छ।सुनुवाइ कार्यक्रममा नलगाड नगर प्रमुख डम्बर रावत, पुर्व समन्वय प्रमुख मन बहादुर रावल, पूर्व नगर प्रमुख टेक बहादुर रावल, तथा नलगाड नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, वातावरणीय प्रभाव मूल्याङ्कनका विशेषज्ञ डाक्टर जोती प्रसाद गजुरेल, र आयोजना गेजुबा ग्रुप पावर इन्भेष्टमेण्ट नेपाल प्रा.लि काठमाडौंका प्रतिनिधि राजु खड्का, साथै कार्यक्रम सञ्चालक प्रकाश घिमिरेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

यो आयोजना कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ११, १२, १३ तथा रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकाको वडा नं ४, ५, ६ मा अवस्थित भेरी नदीको पानी प्रयोग गरी २७० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको पिकिङ रन अफ रिभर आयोजना हो। आयोजनाको डिजाइन डिस्चार्ज ११३.६४ घनमिटर प्रति सेकेन्ड रहने छ। आयोजनाले जाजरकोट र रुकुम पश्चिम जिल्लाका विभिन्न वडालाई प्रभावित पार्नेछ।

आयोजनाका मुख्य संरचनाहरूमा पिकिङ जलाशय, बाँध, स्पिलवे, इनटेक, टनेल, सेटलिङ बेसिन, हेडरेस टनेल, अडिट, सर्ज ट्याङक, पेनस्टक, विद्युत गृह, टेलरेस टनेल, र कर्मचारी आवास लगायतका संरचना निर्माण गरिनेछ। आयोजनाबाट १२४ घरधुरी प्रभावित हुनेछन् भने ५.५१ हेक्टर जमिन आवश्यक पर्नेछ।सुनुवाइ कार्यक्रममा नलगाड नगरपालिकाले आयोजनासम्बन्धी विभिन्न सुझावहरू प्रस्तुत गरेको छ।

ती सुझावहरूमा स्थानीय बासिन्दालाई क्षमता र दक्षता अनुसार रोजगार प्रदान गर्नुपर्ने, घर- जग्गा र अन्य संरचनाको उचित मुआब्जा दिनुपर्ने, प्रभावित तहहरूलाई सेयरमा पूर्णरूपमा संलग्न गराउनुपर्ने, आयोजना कार्यान्वयन गर्दा स्थानीय तहहरूसँग सहकार्य गर्नुपर्ने, पानीको स्रोतहरूको दिगो व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने, तथा जैविक विविधता संरक्षणमा ध्यान दिनुपर्ने छन्।आयोजना कार्यान्वयनका क्रममा कुनै पनि संरचनामा क्षति पुगेमा उचित क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।