सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले माओवादी युद्धको सुरुवात रुकुम, रोल्पा, र जाजरकोटबाट भएको थाहा पाएपछि आफूले शान्ति प्रक्रियाको भावनाले काम गर्ने सङ्कल्प गरेको बताउनुभएको छ। उहाँले यस विषयमा आफ्नो प्रतिबद्धता नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभयो।

मन्त्री शाहले पछिल्लो समय नेपाल रेडक्रसमा राजनीतिक हस्तक्षेपका कारण संस्था विवादित बन्दै गएको र यसलाई चाँडो समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले हरेक कामकारबाहीमा सफा नियत आवश्यक रहेकोमा जोड दिँदै रेडक्रसले मानवतावादी सेवामा पूर्ण निष्ठासाथ लाग्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाशकुमार शाक्यले सुर्खेतमा सञ्चालित रक्तसञ्चार केन्द्रलाई व्यवस्थित गर्न अपिल गर्दै, दानमा दिएको रगतलाई सरकारले निशुल्क उपलब्ध गराउन नसकेको विषयमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले केही प्रदेश र स्थानीय तहले आफ्ना नागरिकलाई निशुल्क रगत उपलब्ध गराएको भए पनि कर्णाली प्रदेश सरकारले यसमा अझै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।

यसै क्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दीर्घबहादुर पोखरेलले प्रदेशका नागरिकहरूको स्वास्थ्य सुरक्षाको लागि निशुल्क रगत उपलब्ध गराउने योजना अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।