सुर्खेत – स्युचाटार स्थित रेडियन्ट पब्लिक स्कुलको कोर्टमा जारी १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जेसिस र केभीसीले शनिबार सिनियर गल्र्सतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

जेसिसले मस्र्याङ्दीलाई २२–१५ को स्कोरमा पराजित गर्दा स्मृति थापाले टिमका लागि १२ अंक योगदान गरिन्। अर्कोतर्फ, केभीसीले द एक्सेल्सियर स्कुललाई ११–३ को सहज जित निकाल्न सफल भयो, जसमा सिमरन पाण्डेले ९ अंक जोडिन्।

सिनियर ब्वाइजमा रोमाञ्चक खेल

सिनियर ब्वाइजतर्फ आयोजक रेडियन्ट पब्लिकले राइजिङ स्टारलाई ३५–३२ को झिनो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो। यस खेलमा नन्दनबाबु बस्नेतले रेडियन्टका लागि १२ अंक स्कोर गरे।एलआरआईले बेबी एन्जललाई ३८–५ ले, क्षेत्रग्नले एक्सेल्सियरलाई ४५–२५ ले र संस्कृतिले रेडियन्ट रिडर्सलाई ३३–२९ ले पराजित गर्दै अन्तिम आठमा पुगे। क्षेत्रग्नका सुशिल शाहीले प्रभावशाली प्रदर्शन गर्दै ३१ अंक बटुले।

अन्य खेलहरूमा मेगसले केभीसीलाई २५–१९ ले, स्वस्तिश्री गुरुकुलले पिपुल्स एकेडेमीलाई २८–२६ ले, ज्ञानोदय बालवाटिकाले स्वर्णिमलाई ४०–३१ ले र पुष्पसदनले सेन्ट्रल स्टेटलाई ३९–१६ ले हराए।

खेलाडीहरूका उत्कृष्ट प्रदर्शनले प्रतियोगिता थप रोमाञ्चक बनाउँदै लगेको छ। मेगसका सिमोन रम्जालीले १० अंक, स्वस्तिश्रीका श्रेयन नाम्गेल लामाले १५, ज्ञानोदयका अर्यान धामीले ११, र पुष्पसदनका उमंग अमात्यले १६ अंक बटुले।

यो प्रतियोगिता समापन तर्फ अघि बढेसँगै दर्शकहरूले प्रतिस्पर्धी खेलको आनन्द लिइरहेका छन्।