जाजरकोट, माघ २२ – जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा मङ्गलबार बिहान भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का दुई जनाको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ।प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले दिएको जानकारीअनुसार मृतक व्यक्ति मध्यपहाडी राजमार्ग निर्माणको जिम्मा लिएको शुरुकृति कम्पनीका ट्याक्टर चालक हुन्। उनी टिप्परमा यात्रारत रहेको र दुर्घटनाका क्रममा मृत्यु भएको हो।

टिप्पर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भई भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, डिएसपी पाण्डेले बताए। दुर्घटनामा टिप्पर चालक र सहचालक घाइते भएका छन्, जसमा सहचालकको अवस्था गम्भीर रहेको छ।