नेपालमा २०४६ पौष ४ तत्कालीन समयमा राष्ट्रिय पञ्चायतका समेत सदस्य रहेका पद्मरत्न तुलाधरको सक्रियतामा वाममोर्चाको भेला भएको थियो । आठवटा वाम घटक एकसाथ भएर संयुक्त वाममोर्चा बनाउन सफल पनि भए । भेलाले अध्यक्षमा कमरेड सहाना प्रधानलाई तोकेको थियो । माघ ५ गते तिन दिने नेपाली काँग्रेसको राष्ट्रिय सम्मेलन गणेशमान सिंह श्रेष्ठको चाक्सीबारीस्थित घरमा भएको थियो । त्यही सम्मेलनमा गणेशमान सिंहलाई जनआन्दोलनको कमान्डर तोकिएको थियो । उक्त सम्मेलनमा सात बुँदे प्रस्ताव पारित गरिएको थियो । पञ्चायती व्यवस्थाको समाप्ति र बहुदलीय व्यवस्थाको पुर्नस्थापनाको लागि अन्तिम जनआन्दोलनका लागि २०४६ फागुन ७ गतेको मिति तय गरिएको थियो । माघ २७ मा वाममोर्चाको तर्फबाट कमरेड सहाना प्रधान र नेपाली काँग्रेसको तर्फबाट कृष्ण प्रसाद भट्टराईको संयुक्त हस्ताक्षरमा आन्दोलनको तालिका सार्वजनिक गरियो । जस अनुसार,

१, फागुन ७ गते संयुक्त वाममोर्चा र नेपाली काँग्रेस दुवैले आ आफ्नो झण्डासाथ जुलुस प्रदर्शन र आमसभा गरेर २९ वर्षे प्रतिबन्ध तोड्ने । 

२, फागुन ८ गते नेपाल बन्दको कार्यक्रम अनुरूप देशभर यातायात, शिक्षण संस्था, उद्योग कलकारखाना र व्यापार बन्द गर्ने । 

३, फागुन १४ गते देशभर पञ्चायती व्यवस्थाको विरोधमा कालो दिवस मनाउने कालो झण्डा र कालो पट्टी बाँधेर प्रदर्शन र आमसभा गर्ने । 

४, फागुन १९ गते नेपाल बन्द गर्ने तथा स्थानीय परिस्थिति अनुरूप कार्यक्रमहरू निरन्तर गरिरहने ।

यसरी आन्दोलनका कार्यक्रमहरू घोषणा भैसकेपछि आन्दोलन सहज नहोस् भनेर तत्कालीन सरकारले धरपकड थाल्यो । फागुन २ गते वाममोर्चाका अध्यक्ष कमरेड सहाना प्रधानलाई पक्राउ गर्यो । फागुन ४ गते महेन्द्रनारायण निधि समातिएका थिए । फागुन ६ गते नेपाली काँग्रेसका नेता गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराईलाई आआफ्नो निवासमा नजर बन्दमा राखियो । २०४६ फागुन ७ गते पहिलो दिन देशभर विभिन्न स्थानमा आन्दोलन शुरु भयो । काठमाण्डौ सुनधारावाट निस्केको जुलुसमा सहभागी भएका कमरेड मनमोहन अधिकारी र कमरेड तुल्सीलाल अमात्यलाई पक्राउ गरियो । चितवनमा भीम प्रसाद श्रेष्ठ र जागृत प्रसाद भेटवाल पक्राउ परे । विराटनगरमा कमल कोइराला र अशोक कोइराला समातिए । यसरी आन्दोलनको पहिलो दिनमा नै सरकारले कडा कदम चालेको थियो । जसले गर्दा हताहत र घाइतेहरू धेरै भएका थिए । फागुन ८ गते दोश्रो दिन नेपाल बन्दको घोषणा गरियो । अधिकांश बन्द भए कतै कतै खुलेका पसलहरू बन्द गराउने क्रममा प्रहरी र आन्दोलनकारी बिच झडप हुँदा केही हताहत भएका थिए भने स्थिति २५ गतेसम्म असहज नै थियो ।

संयुक्त वाममोर्चा र नेपाली काँग्रेसले २०४६ फागुन २६ गते देखि दोश्रो चरणको आन्दोलन घोषणा गरेको थियो । जस अनुसार,

१, फागुन २६ गते देशभर पञ्चायतको पुतला जलाउने, 

२, फागुन २७, २८ रु २९ गते आन्दोलनका प्रचारात्मक कार्यक्रमहरू गर्ने, 

३, फागुन ३० गते सभा र जुलुस प्रदर्शन गर्ने, 

४, चैत्र १ गते नेपाल बन्द गर्ने ।

संयुक्त वाममोर्चा र नेपाली काँग्रेसले २०४६ चैत्र ६ गते देखि तेश्रो चरणको आन्दोलन घोषणा गरेको थियो । जस अनुसार,

१, चैत्र १६ गते साँझ ७‍, १० बजे बत्ति निभाउने, 

२, चैत्र २२ गते आन्दोलनमा शहीद भएकाहरुको स्मृतिमा शोकसभा गर्ने, 

३, चैत्र २७ गते नेपालको संविधान जलाउने र नयाँ संविधान माग गर्ने । 

जनताको पक्षमा राजावाट सम्वोधन हुने प्रतिक्षा गरेर बसेका जनताकालागि राजाले चैत्र १९ गते मन्त्रीमण्डल पुर्नगठन गरेर वेवास्ता गरे । आन्दोलन थप चर्किदै गयो । प्रहरीले आन्दोलकारीमाथि दमन बढाए पनि जनताको दृढता विचलित नभएको देखेर चैत्र २४ गते राती पूर्व राजा वीरेन्द्रले एक घोषणा मार्फत मरिचमानसिहको मन्त्रीमण्डल विघटन गरी लोकेन्द्र वहादुर चन्दको प्रधानमन्त्रीत्वमा तिन सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । जसका कारण आन्दोलनले झन उग्र रुप लिएको थियो । तत्कालीन पूर्व राजा वीरेन्द्रमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब बढेको थियो र आन्दोलनले अन्तर्राष्ट्रिय समर्थन समेत प्राप्त गरेको थियो । अन्तत सरकारले वाध्य भएर वार्ताका लागि आह्वान गर्यो । चैत्र २५ र २६ गते दुई दिन नै सरकारले कफ्र्युको घोषणा गरेको थियो । यही समयमा सेनाको भ्यान प्रयोग गरेर पद्मरत्न तुलाधरलाई मध्यस्तकर्ता बनाएर वार्ता टोली तयार बनायो । चैत्र २६ गते राती राजासंग वार्ताका लागि आन्दोलनकारीका तर्फबाट चारजना प्रतिनिधि दरवारमा प्रवेश गरेका थिए । चैत्र २६ गते राती ११,२० मा रेडियो नेपाल तथा टेलिभिजनवाट राजदरवारको विज्ञप्ति प्रसारित गरियो । जसअनुसार नेपालको संविधान २०१९ मा रहेको दलविहीन शन्द हटाई तदनुसार समाजका विभिन्न विचारधारा प्रतिविम्वित हुने गरी संविधान सुधार सुझाव आयोगले गर्नेछ । साथै नेपालमा हाल लागि रहेको दलमाथिको प्रतिवन्ध पनि हटाईएको थियो । राती देखि नै खुशीयालीको लहर चल्न थाल्यो । तर जनतालाई अझै थाहा थिएन । सरकारको घोषणामा बहुदल दिएकै थिएन । केवल दलविहीन भन्ने शव्द हटेको थियो र साथमा दलहरु मथिको प्रतिवन्ध हटाइएको थियो । दलहरुलाई सम्पूर्ण अधिकारका कुरा सम्वोधन भएकै थिएन । अन्तत २०४७ वैशाख २ गते प्रधानमन्त्री लोकेन्द्र वहादुर चन्दसंग बसेको वैठकमा आन्दोलनकारी बिच चर्को विवाद भएपछि लोकेन्द्र चन्दले राजासामु राजीनामा पेश गरे । दलहरुको तर्फबाट प्रधानमन्त्रीको नाम मागियो । सवैले आन्दोलनका कमान्डर गणेशमानसिंहको नाम सुझाए तर गणेशमानको अस्वीकृतपछि कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्रीमा नियुक्त भए । यसपछि बल्ल देशमा बहुदल आएको थियो । २०४६ चैत्र २६ गते तत्कालीन पूर्व राजाले आम निर्वाचन सम्पन्न गर्ने जिम्मा दिइएका थिए । सरकार गठन पश्चात २०४७ वैशाख १४ गते तत्कालिक पूर्व राजाले पञ्चायका सवै सरचनाहरु भंग गरेका थिए ।

नेपालको जनआन्दोलन २०४६ फागुन ७ गते देखि चैत्र २६ गतेसम्म ५० दिन भएको थियो । नेपाली काँग्रेसले नेतृत्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिष्ट पार्टीहरुको समूह संयुक्त वाममोर्चा बनाएर आन्दोलनमा उत्रिएको थियो । आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरुले बर्बरतापूर्वक दमन गरेका थिए । यस आन्दोलनमा सम्पूर्ण नेपालीहरुको ठूलो योगदान र समर्पण रहेको थियो । तसर्थ विश्वमा सवै भन्दा लोकप्रिय र उच्चत्तम व्यवस्था भनेको नै लोकतन्त्र हो । यसको विकल्प नै छैन । पञ्चायती र राजतन्त्र कालमा दलहरुमाथि प्रतिबन्ध, बोल्न, लेख्न, पढ्न, संगठन खोल्न बन्देज र विरोध गर्न नपाईने व्यवस्था थियो । यदि कसैले पञ्चायती शासकको विरोध गरे गोली समेत खानु पर्ने थियो । तर अहिले लोकतन्त्रमा वोल्न, लेख्न, पढ्न, विरोध गर्न पाइन्छ यो नै लोकतन्त्र, गणतन्त्रको सुन्दर पक्ष र विशेषता हो । त्यसैले लोकतन्त्र गणतन्त्रको सवैले रक्षा गर्नु हामी सवैको कर्तव्य हो । सधै विरोध र आलोचना मात्र गरेर अव देश बन्दैन । वेठिक कुराको आलोचना र ठिक गरेको कुराको सम्मान गर्नु पर्दछ । राजनीतिक दल वा राज्यले गलतलाई निषेध र राम्रोलाई अघि बढाउन आवश्यक छ । नेपाली जनताको लामो संघर्ष र वलिदानीवाट प्राप्त लोकतन्त्र गणतन्त्रको संरक्षण गर्नु हाम्रो र भावि पुस्ताको जिम्मेवारी हुनेछ ।

लेखक, बसन्त कुमार विश्वकर्मा, नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी सदस्य ।