काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्ने गरी पत्र पठाएको छ। अस्पतालबाट हानीकारक फोहोरको उचित व्यवस्थापन नगरिएको पाइएको र सुधारको अवसर पाउँदा पनि बेवास्ता गरेपछि महानगरले यस्तो कारबाही अघि सारेको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार, अस्पतालले वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ विपरीत फोहोर व्यवस्थापन गरेको पाइएपछि जरिवानाको पत्र पठाइएको हो।

उक्त ऐनअनुसार, रासायनिक, औद्योगिक, स्वास्थ्य संस्था जन्य वा जोखिमपूर्ण फोहोर जथाभावी फाल्ने वा निष्कासन गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। यस्तै, यस्ता कार्यहरू दोहोर्याएमा पहिलोपटकको जरिवाना दोब्बर हुने र आवश्यक परेमा सम्बन्धित निकायमा अनुमति रद्द गर्न सिफारिस गर्न सकिने कानुनी प्रावधान छ।

महानगरले फोहोर व्यवस्थापनमा लापरवाही गर्ने संस्थामाथि निरन्तर निगरानी गर्दै आएको छ र आगामी दिनमा पनि कानुन बमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।