
पञ्चेबाजा ठोकेर धूमधामसाथ विवाह गर्नुमात्र विवाह हो भन्ने आम धारणा रहेको समाजमा यस्ता पनि युवा–युवती छन्, जसले आफ्नो वैवाहिक जीवनलाई सामाजिक सेवासँग जोड्न चाहन्छन्।
त्यस्तै उदाहरणीय जोडी हुन्– दैलेखको आठबीस नगरपालिका–१ साततलाका सुगम थापा र कालिकोट महावै गाउँपालिका–५ गेलाकी विमला पोखरेल। हाल नेपाल राष्ट्र बैंकमा कार्यरत थापा र पोखरेलले वैवाहिक समारोहलाई सामाजिक सेवामा रूपान्तरण गर्दै सोमवार रुपन्देहीस्थित मानवसेवा आश्रम, तिलोत्तमा सेवाकेन्द्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई साक्षी राखी विवाह गरेका छन्।
उनीहरुले विवाहको अवसरमा आश्रममा आश्रितहरूका लागि भोजन सेवा सहजीकरण गर्न ५० हजार १ सय २९ रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन्।
मानवसेवा आश्रमले सडकमा कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन, शारीरिक तथा मानसिकरूपमा कमजोर व्यक्तिहरुको उद्धार, पालनपोषण र पारिवारिक पुनर्मिलनका लागि निरन्तर सेवा दिँदै आएको छ।
सुगम र विमलाको यस सामाजिक योगदानमूलक विवाहले समाजमा सकारात्मक सन्देश दिएको छ। उनीहरुको यो कार्य अन्य युवाहरूका लागि पनि प्रेरणादायी बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस्