
सुर्खेत – नलगाड नगरपालिकामा कार्यरत केही सरकारी कर्मचारी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को कार्यक्रममा सहभागि भएको खुलासा भएको छ। सोमबार भेरी नगरपालिका–१ मा आयोजित जनतासँग माओवाद कार्यक्रममा उनीहरु सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषय चर्किएको हो।
कार्यक्रममा नलगाड नगरपालिकाको पशु सेवा शाखाका ना उ प्र से शशिराम वली, स्वास्थ्य सेवा शाखाका कर्मचारी मोहन खड्का, वडा नं १२ का वडा सचिव गोकर्ण चन्द, मनोसामाजिक परामर्शकर्ता विनोद रावल लगायत शिक्षकसमेतको उपस्थिति देखिएको छ।

एक स्रोतका अनुसार उनीहरुले बिहान कार्यालयमा हाजिर गरेपछि दिउँसो सो राजनीतिक कार्यक्रममा सहभागी भएका थिए। निजामति सेवा ऐन, २०४९ को परिच्छेद ७ अन्तर्गत दफा ४४ मा कुनै पनि सरकारी कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने र पार्टीको कार्यक्रममा सहभागी हुन नपाउने प्रष्ट उल्लेख गरिएको छ।
नलगाड नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत ठकेन्द्र गिरीले आफु निमित्त प्रमुख भएता पनि कुनै जानकारी बिना यकाएक हिडेको बताएका छन् । यता, कर्मचारीहरुले भने आफुहरु कार्यक्रममा सहभागी भएको स्वीकार गरेका छन्।
निजामति सेवा ऐनको व्यवस्था अनुसार, यस्तो गतिविधिमा संलग्न कर्मचारीलाई स्पष्टिकरण सोध्ने, सचेत गराउने, आवश्यक परेमा सेवाबाट बर्खास्त गर्ने जस्ता कारवाही गर्न सकिने कानुनी प्रावधान छ। स्रोतका अनुसार नियमको उल्लंघन भएपनि सम्बन्धित निकाय गम्भीर नदेखिनु गम्भीर प्रश्नको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्