आज १८ औ गणतन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन विद्रोही माओवादीको १० बर्षे जनयुद्धको बलमा नेपालमा गणतन्त्र स्थापना भएको थियो । माओवादीको सशस्त्र सङ्घर्ष र सात राजनैतिक दलको शान्तिपूर्ण आन्दोलन २०६२, ६३ को दोस्रो जनआन्दोलन पछि संविधान सभाको चुनाब गर्ने, गणतन्त्र स्थापना गर्ने दिशामा मुलुक प्रवेश गरेको थियो । अन्तत संविधान सभा निर्वाचन मार्फत २०६५ जेठ पन्ध्र गते गणतन्त्रको घोषणा भएको थियो । यस अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते, अपाँग, योद्धाहरुमा उच्च सम्मान व्यक्त गर्दछु, साथै जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेसी, आदिवासी जनजाति र बिभिन्न समुदायको सङ्घर्षमा सहभागी सबै प्रति हार्दिक आभार प्रकट गर्दछु ।

२३८ बर्ष पुरानो निरङ्कुश राजतन्त्रको अन्त्य गदै गणतन्त्र नेपालको स्थापना भएको थियो । पहिलो संविधान सभाले पाँच बुँदे गणतन्त्रको प्रस्तावमा ५६० जनाले पक्षमा र राप्रपा नेपालका चार जनाले विपक्षमा मत दिएका थिए । २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी सङ्घर्षका महानायकहरु नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो ।  जेठ १५ गते संविधान सभाको पहिलो बैठक बिहान ११ बजे बस्ने कार्यक्रम थियो । तर विविध कारणले बैठक बस्न सकेन, राति ९ बजेर १३ मिनेटमा बैठक सुरु भयो । बैठकको अध्यक्षता  ज्येष्ठ सदस्य के. वि गुरुङले गर्नुभएको थियो ।राति ९, ४३ मा गणतन्त्रको घोषणा प्रस्ताव गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले राखेका थिए । ५ वुदाको प्रस्तावमा अबदेखि हरेक जेठ १५ गते गणतन्त्र दिवसका रुपमा मनाउन आह्वान गरिएको थियो । यो प्रस्ताव बैठकको निर्णयार्थ पेश गरियो र मतदान मार्फत पारित भएको घोषणा गरियो । संविधान सभाको पहिलो बैठकबाट पारित भएको गणतन्त्रको प्रस्ताव ,नेपाली जनताले २००७ साल पहिले देखि पटक पटक गर्दै आएका ऐतिहासिक सङ्घर्ष, क्रान्ति र जनआन्दोलन मार्फत अभिव्यक्त जनादेशको सम्मान गर्दै प्राप्त उपलब्धिहरू लाई संस्थागत गर्न, राजनैतिक उपलब्धिका बिच भएको सहमति तथा नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ (२) अनुरूप इतिहासले सुम्पेको अभिभारालाई  आत्मसाथ गर्दै नेपाल सरकार मन्त्रीपरिषद गणतन्त्रको कार्यान्वयनका लागि संविधान सभाको पहिलो  बैठकमा निम्न बमोजिमको प्रस्ताव प्रस्तुत गरेको थियो ।

१, सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहि स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक सङ्घीय लोकतान्त्रीक गणतन्त्रमा विधिवत परिणत भएको संविधान सभाको यो पहिलो बैठक घोषणा गर्दछ ।

२, मुलुकमा विधिवत लोकतान्त्रीक गणतन्त्र कार्यान्वयन भएकाले यस सँग बाझिने सबै संवैधानिक प्रावधान, कानुन र प्रशासनीक व्यबस्था आजैका मितिदेखि बाझीएको हदसम्म खारेज भएको मानिने छ । उक्त घोषणा पारित हुनुभन्दा तत्काल अघि प्रचलित कानुन,परम्परा , रीति, सामाजिक तथा सास्कृतिक व्यबहार एवँ अभ्यासमा रहेका तत्कालीन राजा र निजको परिवारको सदस्यलाई आम नेपाली नागरीकलाइ भन्दा भिन्न रुपमा प्राप्त  सम्पुर्ण अधिकार, सुबिधा, हैसीयत तथा उपाधि स्वत अन्त्य हुनेछ ।३, नेपाल सघीय लोकतान्त्रीक गणतन्त्रमा विधिवत घोषित भएको अवस्थामा राष्टपतिको ब्यबस्था लगायतका अत्याबश्यक प्राबधानलाई संवैधानिक रुपमा संस्थागत गर्न नेपालको अन्तरिम संविधान २०६३ मा आबश्यक संशोधन पेश गरिएको छ । राष्टपतिको  निर्बाचन प्रणाली लगायतका अन्य आबश्यक बिषयमा संविधान सँशोधन सम्बन्धि अर्काे बिधेयक पेश गरीनेछ ।४, नेपाल सङ्घीय लोकतान्त्रीक गणतन्त्रमा विधिवत प्रवेश गरी नँया युग आरम्भ भएको ऐतिहासिक अवसरमा यो बैठक सम्पुर्ण ज्ञात अज्ञात शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस अवसरमा सम्पुर्ण नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्दै आज र उपरान्त प्रत्येक सालको जेठ १५ गते गणतन्त्र दिवसलाई हर्षोल्लासपुर्ण वातावरणमा व्यापक रुपमा बिविध कार्यक्रम हरुका साथ मनाउन देश भित्र र बाहिर रहनुभएका सम्पर्ण नेपालीहरुमा यो बैठक हार्दिक आह्वान् गर्दछ ।५, नेपालमा लोकतान्त्रीक गणतन्त्र कार्यान्वयन भईसकेको सन्दर्भमा नाराहिटी दरबार परीसर तथा यसभित्र रहेका सम्पुर्ण सम्पदालाई ऐतिहासिक सग्राहालय लगाएत राष्टिय हितमा उपयोग गर्न नेपाल सरकारले आबश्यक ब्यबस्था मिलाउने छ । अन्त्यमा, गणतन्त्र दिवस २०८२ को अवसरमा हामिसबैलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गरोस् भन्ने अपेक्षाका साथ स्वदेश तथा विदेशमा रहनुभएका आम नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

लेखक बसन्त  कुमार बिश्वकर्मा नेकपा एकीकृत समाजबादी केन्द्रिय कमिटी सदस्य हुनुहुन्छ ।