जाजरकोट जिल्लाको नलगाड नगरपालिका–७ स्थित दानिपीपलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय दल्लीका अनुसार दुर्घटनामा परि ट्याक्टर चालक १८ वर्षीय बिमल परियारको घटनास्थलमै मृत्यु भएको हो। गम्भीर घाइते भएका १७ वर्षीय सहचालक जय बहादुर परियारलाई प्रारम्भिक उपचारपछि नलगाड नगर अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेको ट्याक्टर दल्लीबाट सरिया र सिमेन्ट लिएर कायाखेततर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टरको नम्बर प्लेट भने अहिलेसम्म प्राप्त नभएको र केहीबेरमा विस्तृत विवरण आउने प्रहरीले बताएको छ।