भक्तपुरको बोडेस्थित सिन्टीटारमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतकहरू सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी १३ वर्षीया बहिनी सिर्जना कँडेल रहेको प्रहरीले पुष्टि गरेको छ।

दुवै जना तीन साता अगाडि भारतको महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट भागेर भक्तपुर आएका थिए। प्रहरीका अनुसार उनीहरू भक्तपुरस्थित चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए। बिहीबार बिहान करिब पौने ७ बजे कोठाको प्यासेजमा नाइलनको डोरीले पासो लगाइएको अवस्थामा उनीहरू मृत भेटिएका हुन्।

डोरी डन्डीमा बाँधिएको, मोबाइल घटनास्थलमै

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार नाइलनको डोरी फलामको डन्डीमा घुसाएर पासो लगाइएको थियो। घटनास्थलबाट उनीहरूको मोबाइल समेत बरामद गरिएको छ भने, उनीहरूले मृत्यु हुनु अघिल्लो रात टिकटक भिडियो बनाएको प्रमाण भेटिएको प्रहरीको भनाइ छ।

‘कलेज पढ्न आएका हौं’ भन्दै डेरा लिएको खुलासा

भारतबाट फर्किएपछि उनीहरूले डेरा खोज्दा ‘यहाँ कलेज पढ्न आएका हौं’ भनेको स्थानीयले बताएका छन्। तर भारतमा भने उनीहरूले अभिभावकलाई ुकम्प्युटर कक्षा जान्छौुं भन्दै हिँडेका थिए। हराएपछि अभिभावकले भारतीय प्रहरीलाई जानकारी दिएका थिए।

त्यसपछि उनीहरूले आफ्ना आमाबुवालाई भ्वाइस म्यासेज गर्दै ‘हामी बैंगलोर गयौं, पैसा कमाएर फर्किन्छौं’ भनेका थिए।

अभिभावकको आरोप– होटलमा काम लगाइयो

मृतक किशोरीका आमाबुवा वासुदेव र उमा कँडेलले आफ्नी छोरीहरूलाई होटलमा काम लगाइएको दाबी गरेका छन्। उनीहरूले भारतको एक अनलाइन टेलिभिजनमा प्रतिक्रिया दिँदै ‘हामीका छोरीहरूलाई सीसी क्यामेरा नहुने ठाउँमा काम गराइन्थ्यो’ भनेर बताएका छन्।

अभिभावक हाल काठमाडौंतर्फ आइरहेका छन्। उनीहरू आइपुगेपछि मात्र शव मुचुल्का गरी पोस्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ।

हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। शवलाई घटनास्थलमै सुरक्षित रूपमा राखिएको र पोस्टमार्टमपछि मात्र मृत्युको कारण पुष्टि हुने डिएसपी न्यौपानेले बताएका छन्।