राजमार्ग (हाइवे) सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतको प्रमुखका रूपमा मुकुन्द प्रसाद रिजालले औपचारिक रूपमा पदीय जिम्मेवारी सम्हालेका छन्।
पदबहालीपछि मंगलबार आयोजित पत्रकारहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख रिजालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सभ्य, शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालित हुने बताएका छन्।
उनका अनुसार निर्वाचन अवधिमा सवारी साधनको चेकजाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ। पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन बढ्दै गएकाले सडक दुर्घटनामा वृद्धि भई ठूलो जनधनको क्षति भइरहेको उनले उल्लेख गरे।

‘ट्राफिक नियम अर्काका लागि होइन, आफ्नै सुरक्षाका लागि हो। सबै सवारी चालकले नियमको पालना गर्नैपर्छ,’ प्रमुख रिजालले भने, ‘हाम्रो मुख्य लक्ष्य ट्राफिक नियमको पालना गराउँदै दुर्घटना न्यूनीकरण गर्नु हो। यो कार्य प्रहरी एक्लैले सम्भव छैन, यसका लागि सबै सरोकारवाला निकायको सहकार्य आवश्यक छ।’
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ, शाखा सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले सवारी चालकहरूमा ट्राफिक सचेतनाको कमी र नियमलाई व्यवहारमा लागू नगर्ने प्रवृत्ति नै मुख्य समस्या रहेको धारणा राखे। उनले ट्राफिक सचेतना कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा निर्वाचन अवधिमा सहज र सुरक्षित यातायात व्यवस्थापनका लागि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्