सुर्खेत । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका भित्र आमा–बाबुविहीन तथा मानव बेचबिखनको उच्च जोखिममा परेका दुई निर्दोष बालिकाको जीवनमा आशाको उज्यालो झुल्किएको छ।

लभ एन्ड होप सुइडेन र लभ एन्ड होप नेपालको सहकार्यमा ती बालिकालाई गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको सुनिश्चितता प्रदान गरिएको हो। दीर्घकालीन संरक्षण र पुनःस्थापनाको व्यवस्था भएसँगै उनीहरूको भविष्य अब सुरक्षित दिशातर्फ अघि बढेको बताइएको छ।

यस मानवीय पहलपछि ती बालिकाका आँखामा अब डर होइन, भोलिको सुन्दर सपना देख्न थालिएको छ। पीडाले भरिएका आँसुको सट्टा आशा र आत्मविश्वासको मुस्कान देखिन थालेको स्थानीयले बताएका छन्।

लभ एन्ड होप नेपालका संस्थापक सम्भु शंकर पोखरेलका अनुसार यो केवल राहत मात्र नभई जीवन परिवर्तन गर्ने अभियान हो।

“यी बालिकाको जीवनमा आएको परिवर्तनले हामीलाई अझ जिम्मेवार बनाएको छ। लभ एन्ड होप सुइडेन र त्यहाँका सम्पूर्ण सहयोगीदाताहरूको माया, विश्वास र सहयोगले एक होइन—दुई निर्दोष जीवनलाई नरकबाट स्वर्गतर्फ मोडिदिएको छ,” उनले बताए।

उनले यस महान मानवीय कार्यमा साथ दिने लभ एन्ड होप सुइडेनका सम्पूर्ण सुइडेनबासी सहयोगीदाताहरूलाई हृदयदेखि नमन र धन्यवाद व्यक्त गरे। साथै यस्ता जोखिममा रहेका अन्य बालबालिकाको पहिचान र संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको उनले जोड दिए।