सुर्खेत । कर्णाली प्रदेशमा ९४ हजार ५ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएको नौ महिनामा पीसीआर बिधिबाट यो परीक्षण गरिएको हो ।
कर्णाली प्रदेशको कुल जनसंख्या १५ लाख ७० हजार ४ सय १८ मध्ये कर्णाली प्रदेशमा ९४ हजार ५ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । यो कुल जनसंख्यामध्ये ७.५ प्रतिशतको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना परीक्षण गरिएकामध्ये सात हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको, शुन्य दशमलव तिन प्रतिशतको मृत्यु भएको, ९३.५ प्रतिशत निको भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । ‘कर्णालीमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।’ उनले भने,‘छ हजार छ सय ७५ जनामा कोरोना संक्रमण निको भएको छ ।’
हाल कर्णालीमा ४२८ जना कोरोनाका संक्रिय संक्रमित रहेको संक्रिय संक्रमित छ प्रतिशत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा सुर्खेतमा ३०६९, दैलेखमा १६४२, जाजरकोटमा १४१, सल्यानमा ६३५, रुकुमपश्चिममा २५१, जुम्ला ३२२, हुम्लामा ५६, मुगुमा ४१, डोल्पामा १६, अन्य प्रदेशका ५५० र भारतमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कर्णालीमा महिलाभन्दा पुरुषमामा बढी कोरोनाको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीमा कोरोना पुष्टि भएकामध्ये १९१० जना महिला र ५२१५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७३ प्रतिशत पुरुष र २३ प्रतिशत महिलामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कालिकोट जिल्ला बाहेक अन्य जिल्लामा हाल कोरोना संक्रमित रहेका छन् ।