सुर्खेत । कर्णाली राजमार्गको कालिकोटको खाडाँचक्र नगरपालिकास्थित मान्मको जिरो प्वाइन्टदेखि सेरीघाटसम्मको ३ किलोमिटर सडक कालोपत्रे बनाउन शुरु भएको छ । खाँडाचक्र नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय जुम्लाले ३ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न शुरु गरेको हो ।
बर्र्षायाममा हिलो हुने र हिँउदमा धुलो हुने कर्णाली राजमार्गको खाँडाचक्र नगरपालिकाको वडा नं. १ देखि २ सम्मको ३ किलोमिटर सडक सडक डिभिजन कार्यालय जुम्लाले कालोपत्रे गर्न शुरु गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘कर्णाली राजमार्ग अन्य ठाउँमा कालोपत्रे भएको भएपनि यो बीचको ३ किलोमिटर कालोपत्रे भएको थिएन् ।’ उनले भने, ‘नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय जुम्लाले कालोपत्रे गर्न शुरु गरेको छ ।’
सडक डिभिजन कार्यालय जुम्लाबाट बोलपत्र आह्वान गरेर मान्म बजारको जिरो प्वाइन्टदेखि सेरीघाटसम्म ३ किलोमिटर कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष फागुन मै बोलपत्र आह्वान गरिएको तर, ठेकेदारले काम ढिलाई गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कालोपत्रे योजना भएको भएपनि लकडाउनका कारण निर्माण सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीका प्रमुख सुमन खड्काले बताए ।