सुर्खेत, – कर्णाली प्रदेशका साना किसान र कृषि मध्यस्थकर्ताद्वारा उत्पादित कृषि वस्तुहरू र नवीनतम सोचका अवधारणाहरू सुर्खेतको वीरेन्द्रनगर स्थित कभर्ड हलमा एक भव्य प्रदर्शनी कार्यक्रम मार्फत प्रस्तुत गरिएको छ। यो प्रदर्शनी कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा, युथ इनोभेसन ल्याबको आयोजना, WHH र GIZ को GRAPE परियोजनाको सहकार्यमा भएको थियो। यस कार्यक्रममा कृषि क्षेत्रका उत्पादनकर्ताहरू, नवप्रवर्तक हरू, सरकारी र गैरसरकारी संस्था, विकास साझेदार, वित्तीय संस्था, र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्‍घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहले गर्नुभएको हाे । मन्त्री शाहले आफ्नो सम्बोधनमा कर्णालीलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावनाको चर्चा गर्दै, प्रदेशलाई कृषि क्षेत्रको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “कर्णालीमा कृषि क्षेत्रको अत्यधिक सम्भावना रहेको छ, र यो सम्भावनालाई उपयोग गर्न नयाँ प्रविधि र विचारहरूलाई किसानसम्म पुर्याउन अत्यावश्यक छ।

प्रदर्शनीका मुख्य आकर्षण

प्रदर्शनीमा साना किसानहरूले आफ्नो उत्पादन र नवीनतम सोचहरू प्रदर्शन गरेका थिए। सहभागीहरूले प्रदर्शनीमा जडीबुटी, कृषि उत्पादनका वस्तुहरू, र कृषि व्यवसायका योजनाहरू प्रस्तुत गरेका थिए। यस प्रदर्शनीको मुख्य उद्देश्य साना किसान र कृषि मध्यस्थकर्ताहरूलाई व्यवसायिक ज्ञान र सञ्जाल निर्माण गर्ने अवसर प्रदान गर्नु थियो। यो प्रदर्शनी दुईवटा बुटक्याम्पका चरणहरूबाट अघि बढ्दै अन्तिम चरणमा पुगेको थियो, जसमा करिब ३०० जना साना किसान र ४० जना कृषि मध्यस्थकर्ताहरूले सहभागिता जनाएका थिए।

उक्त बुटक्याम्पहरूमा सहभागीलाई कृषि उद्यमशीलताका बारेमा आवश्यक सीप प्रदान गरिएको थियो। सहभागीहरूलाई साना कृषि व्यवसायीहरूलाई थप व्यावसायिक र उद्यमशील बनाउनका लागि अनलाइन पाठ्यक्रम “Agri Entrepreneurship १.०” अर्थात् कृषि उद्यमशीलता १.० मार्फत तालिम दिइएको थियो, जुन यो प्रदर्शनीकै विशेष आकर्षण रहेको थियो।

जलवायु परिवर्तनका चुनौती र समाधानका उपाय

मन्त्री शाहले जलवायु परिवर्तनले कर्णाली प्रदेशका किसानहरूलाई पारेको प्रभावको बारेमा चर्चा गर्दै कृषि उत्पादनमा आएका विविध चुनौतीहरूको सामना गर्न सबै सरोकारवाला बीचको सहकार्यलाई महत्वपूर्ण मान्नुभयो। “कर्णालीमा जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा विभिन्न रोगकिराहरू बढ्दै गइरहेका छन्, जसले उत्पादनमा नकारात्मक प्रभाव पारेको छ,” उहाँले भन्नुभयो। यद्यपि, उहाँले कृषि क्षेत्रमा व्यवसायीकरण र नवीनतम प्रविधिहरूको प्रयोगले उत्पादन वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकारको नीतिहरू, जसमा “स्वस्थ माटो, स्वस्थ जीवन”, “एक स्थानीय तह, एक कृषि विद्यालय” र “जैविक कृषि प्रवद्र्धन” कार्यक्रमहरू रहेको बताउनुभयो।

प्रदर्शनीको महत्त्वपूर्ण भूमिका

यस कार्यक्रमले साना किसानहरूलाई बजारसँग प्रत्यक्ष सम्पर्क गराउने, उद्यमशीलता प्रवर्द्धन गर्ने, र नवीन विचारहरू आदानप्रदान गर्ने महत्वपूर्ण थलो प्रदान गरेको छ। युथ इनोभेसन ल्याब, WHH, र GIZ को सहकार्यमा गरिएको यो प्रदर्शनीले कर्णालीका किसानहरूलाई थप व्यवसायिक बनाउने मात्र नभई, ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुर्याउनेछ। कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधिहरू, उद्योग वाणिज्य महासंघ, र विभिन्न व्यवसायिक संघसंस्थाहरूका स्टलहरू पनि राखिएका थिए।

प्रदर्शनीको आर्थिक र सामाजिक प्रभाव

यस प्रदर्शनीले कर्णाली प्रदेशको स्थानीय कृषि खाद्य प्रणालीलाई सुदृढीकरण गर्ने लक्ष्य राखेको थियो। यसले साना किसानहरूलाई व्यवसायिक रूपमा सशक्त बनाउने, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने, र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो परियोजना भगवतीमाई, भैरवी, दुल्लु, नौमुले, बराहताल, भेरीगंगा र वीरेन्द्रनगर पालिकाहरूमा कार्यान्वयन भइरहेको छ, जसले कर्णालीका किसानहरूलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ।

यो प्रदर्शनीले साना किसान र कृषि व्यवसायमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। स्थानीय उत्पादनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन यो प्रकारका कार्यक्रमहरू महत्वपूर्ण मानिन्छन्।

प्रदेश सरकारले गरेका योजनाहरू

कर्णाली प्रदेश सरकारले साना किसानलाई आत्मनिर्भर बनाउने र कृषि क्षेत्रमा थप लगानी र विकास गर्ने योजनाहरू अगाडि बढाइरहेको छ। प्रदेश सरकारको नीति र कार्यक्रमहरूले आर्थिक न्याय, गरिबी निवारण, रोजगार सिर्जना, र उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेको छ। यस्तै, प्रदेश सरकारले “स्वस्थ माटो, स्वस्थ जीवन” भन्ने अवधारणालाई प्राथमिकतामा राखेर स्थानीय तहहरूमा कृषि विद्यालय स्थापनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

यसै क्रममा, कृषि व्यवसायलाई प्रवर्द्धन गर्नका लागि प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले सिप विकास तालिमहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसले युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न र रोजगार सिर्जना गर्न सहयोग पुर्याउनेछ।

अन्त्यमा, मन्त्री शाहले कर्णाली प्रदेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउने सरकारको प्रतिबद्धता व्यक्त गर्दै, यस प्रदर्शनीका आयोजक, सहभागी, र समन्वयकर्ताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।