सुर्खेत, कात्तिक २७ ।
प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीमा कोरोना संक्रमण कम हुनुमा यहाँको जडिबुटी र अर्गानिक खाना महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले रोगप्रतिरोधात्मक क्षमता बढाउन र संक्रमण हुन नदिनका लागि कर्णालीका जडिबुटीलाई व्यवहारिक प्रयोगमा ल्याउनुपर्ने बताउनु भयो । शुक्रबार वीरेन्द्रनगरमा कर्णाली जडिबुटी प्रशोधन उद्योगको उद्घाटन गर्दै उहाँले कोरोना संक्रमण रोक्नका लागि महत्वपूर्ण हुने जडिबुटीलाई आम जनतासम्म पु¥याउन आवश्यक रहेको बताउनु भयो ।
‘कर्णालीको गुर्जो, टिमुर, बेसार, सल्लाको बोक्रालगायतले कोरोना संक्रमण कम गर्न मद्दत गर्छ,’ मन्त्री बुढाले भन्नुभयो, ‘कर्णालीमा पाइने यस्ता जडिबुटीहरुलाई देश–विदेशमा पु¥याउन आवश्यक छ ।’ उहाँले कर्णालीमा जंगलमा पाइने मात्रै नभएर व्यवसायिक रुपमा जडिबुटी खेती गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । ‘अव जंगलमा उत्पादित जुडिबुटी संकलन गर्ने मात्रै होइन्, हावापानी सुहाउँदो जडिबुटी खेती गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘यस्तो कार्य गर्नेहरुलाई कर्णाली प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।’ उहाँले कर्णाली जडिबुटीको धनी मात्रै भन्दै गरिएको बताउँदै यसको विशेषता र अवस्थाका बारेमा प्रदेश सरकारले अध्ययन गरिरहेको बताउनु भयो ।
मन्त्री बुढाले कर्णालीमा जडिबुटी प्रशोधन केन्द्र स्थापनाका लागि पहल भइरहेको बताउनु भयो । उहाँले जग्गा प्राप्ती नभएकाले प्रत्येक वर्ष प्रशोधन केन्द्रका लागि बजेट छुट्याए पनि रकम फ्रिज जाने गरेको बताउनु भयो । उहाँले प्रत्येक जिल्लामा एक प्रशोधन र एक भण्डारण केन्द्र स्थापना गर्ने गरिएको बताउनुभयो । उहाँले कर्णालीमा वन उद्योगबाट ठूलो रोजगारी सृजना भइरहेको भन्दै सरकारले यसलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले कर्णालीको जडिबुटीको अध्ययन र अनुसन्धान अझै आवश्यक रहेको पनि बताउनु भयो ।
मन्त्री बुढाले यहाँको जडीबुटी विदेशमा कम मूल्यमा बिक्री भइरहेको बताउँदै प्रशोधन उद्योगको अभावमा बिदेशीबाट महंगोमा औषधि खरिद गर्नुपरिरहेको बताउनु भयो ।


कार्यक्रममा युवा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष नारायण गिरीले युवा उद्यमसंगै रोजगारी जोडिएकाले सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय उत्पादनसंगै रोजगार पनि बढाउनुपर्ने बताउनु भयो ।
उद्योगका अध्यक्ष अजबहादुर गिरीले वर्षौदेखिको अनुभवका आधारमा उत्पादनहरु गरिएको बताउनु भयो । उहाँले जडीबुटी चुर्ण, चिया, सिस्नोको धुलो, मसलालगायतका १० प्रकारका जडिबुटीजन्य उत्पादनहरु बजारमा ल्याउनु भएको छ ।
कार्यक्रममा महिला उद्यमी एवम् उद्यगोगकी बजार व्यवस्थापक विष्णा सिंह, सरस्वती रोकाया, पूर्णबहादुर शाही, अवीलाल सञ्ज्याललगायतले कर्णाली जडीबुटी प्रशोधन उद्योगले गरेको क्षेत्र विस्तारका बारेमा बोल्नु भएको थियो ।