
२०८२ जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले जिल्लास्तरीय गोष्ठीको आयोजना गर्दै दिवसलाई भव्य रुपमा मनाएको छ। सुशासन र रोजगारी, समाजवादको तयारी दलित मुक्तिको सहयात्री र हिस्सेदारी भन्ने नारासहित देशभर ७७ वटै जिल्लामा कार्यक्रमहरू सञ्चालन गरिँदैछन्।
केन्द्रीय कमिटी सदस्य तथा नेपाल दलित मुक्ति संगठनका कर्णाली प्रदेश इन्चार्ज वसन्त कुमार विश्वकर्माले शुभकामना सन्देश जारी गर्दै दलित समुदायले नेपाली इतिहासमा पुर्याएको बलिदान र संघर्षलाई स्मरण गरेका छन्।
शुभकामना सन्देशमा उनले उल्लेख गरे अनुसार, वि, सं १९१० मा जंग बहादुर राणाले कानुन बनाएर जातीय विभेदको जग हालिएको हो भने वि,सं १९९७ मा भगत सर्वजित विश्वकर्माले जातीय भेदभाव विरुद्ध अभियान सुरु गरेका थिए। यस्तै, भारतका संविधानविद् डा, बी, आर अम्बेडकरको नेपाल भ्रमणपछि वि,सं, २०२२ देखि दलित शब्दको प्रयोग हुन थालेको देखिन्छ।
वि,सं, २०५२ मा सुरु भएको जनयुद्धमा दलित समुदायको ठूलो संलग्नता रहेको तथ्य पनि सन्देशमा उल्लेख गरिएको छ। १७ हजार जनाले जीवन उत्सर्ग गरेको युद्धमा सरकारी तथ्यांक अनुसार ११५० जना दलितले बलिदान दिएका थिए।
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या भएको उल्लेख गर्दै उनले अझै पनि नेपालमा जातीय भेदभाव र छुवाछूतका कारण ५५ भन्दा बढी मानिसको ज्यान गइसकेको तथ्य प्रस्तुत गरेका छन्।
वि।सं। २०६३ जेठ २१ मा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो भने वि,सं २०६८ मा जातीय छुवाछूत तथा भेदभाव कसुर तथा सजाय ऐन पारित गरिएको थियो। यी ऐतिहासिक कदमहरूमा नेकपा एकीकृत समाजवादी पार्टीको विशेष भूमिका रहेको विश्वकर्माले बताएका छन्।
उनले राज्यका सम्पूर्ण निकाय, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनतालाई जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्य गर्न प्रतिवद्ध बन्न आग्रह गरेका छन्। सामाजिक र परम्परागत सोच, व्यवहार, र प्रथामा सकारात्मक परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै दलित अधिकारका ऐन, कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
अन्त्यमा, उनले जेठ २१ को दिन जातीय विभेद विरुद्धको संघर्षमा सबै नेपालीलाई प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्