कोरोना परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य रूपमा क्वारेन्टिन बस्नू भनेर सरकारले भन्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब दिएपछि आफूलाई सम्भावित संक्रमित ठानेर क्वारेन्टिनमा बस्न पटक-पटक अपिल गरेका छन्।

सरकारको यो आग्रह स्वयं सरकारी निकायबाटै पालना भइरहेको छैन। त्यो पनि नेपाल प्रहरीबाट, जहाँ पछिल्लो समय कोरोना संक्रमितहरू धेरै भेटिएका छन्।

सन्दर्भ हो, रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार पुल्चोकमा भएको झडपको।

निशेधाज्ञा तोड्दै रथ तान्न आएका युवाहरूलाई रोक्न खोज्दा बिहीबार पुल्चोक क्षेत्र रणमैदानमा परिणत भयो। कोरोना महामारीबीच जनस्वास्थ्यको ख्याल नराखी भीडभाड गरेको भन्दै रथ तान्नेहरूको सर्वत्र आलोचना पनि भयो। उनीहरूलाई रोक्न खटिएका प्रहरीहरूले नै ‘भीडभाड गर्दा संक्रमण फैलिने डर हुन्छ’ भन्दै सम्झाउने प्रयास गरेको सुनिएको थियो।

तर, त्यही भीडभाड नियन्त्रण गर्दा नेपाल प्रहरीले ती जवानहरूलाई पनि ड्युटीमा खटाएको थियो, जसले केही दिनअघि मात्र कोरोना परीक्षणको निम्ति स्वाब दिएका थिए। उनीहरूको रिपोर्ट आउनै बाँकी थियो।

उक्त घटनामा खटिएका १८ जना प्रहरीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा संक्रमण पुष्टि भएको परिसरका डिएसपी सन्तोष तामाङले सेतोपाटीलाई जानकारी दिए।

‘हामीले ५५-५६ जनाको टेस्ट गराएका थियौं, त्यसमा अहिलेसम्म १८ जनाको पोजेटिभ आएको छ। अरूको रिपोर्ट आउने क्रममा छ,’ उनले भने।

प्रहरी स्रोतका अनुसार उनीहरूको बुधबार मात्रै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। सरकारको निर्देशन मान्ने हो भने त्यसरी स्वाब दिएकाहरूलाई ड्युटीमा खटाउनु जनस्वास्थ्य प्रतिकूल हो। उनीहरूलाई क्वारेन्टिनमा राख्नुपर्छ। रिपोर्ट नेगेटिभ आए बल्ल ड्युटीमा खटाइन्छ।

यहाँ भने रिपोर्टको पर्खाइमै रहेका प्रहरीलाई क्वारेन्टिनको सट्टा सिधै ड्युटीमा खटाइएको पाइएको छ। त्यो पनि यस्तो ठाउँको ड्युटीमा, जहाँ सयौं संख्यामा भीड जम्मा छ। सुरक्षाकर्मी पनि ठूलो संख्यामा खटिएका छन्।

यस्तो बेला स्वाब दिएर बसेका प्रहरीलाई समेत खटाउँदा उनीहरू संक्रमित रहेछन् भने अरू पनि जोखिममा पर्ने डर भयो। उनीहरूसँगै खटिएका प्रहरी मात्र होइन उनीहरूले नियन्त्रण गर्न आएको सयौंको भीड पनि संक्रमणको जोखिममा परे।

एक प्रहरी अधिकृतले उनीहरूलाई ड्युटीमा खटाइए पनि ‘पछाडि-पछाडि बसेर काम गर्न लगाइएको’ बताएका छन्। ‘क्लोज कन्ट्याक्टमा खटिएका होइनन्,’ उनको भनाइ छ, ‘ब्याक-अपका रूपमा पछाडि बसेर काम गरेका हुन्।’

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतले पनि स्वाब संकलन गराएका सुरक्षाकर्मीलाई ड्युटीमा खटाइएको हुन नसक्ने दाबी गरेका छन्। ‘यस्तो हुनै सक्दैन। स्वाब संकलन गरिएका सुरक्षाकर्मीलाई ड्युटीमा पठाइँदैन, क्वारेन्टिनमा बस्न भनिन्छ,’ उनले सेतोपाटीसँग भने।

उनका अनुसार स्वेच्छाले स्वाब परीक्षण गराउने सुरक्षाकर्मीलाई समेत नतिजा नआइञ्जेल होम क्वारेन्टिनमै बस्न भनिएको छ। उक्त घटनाबारे सम्बन्धित परिसरसँग सोधपुछ गर्ने उनले बताएका छन्। साभार:सेताेपाटी