सुर्खेत, १० असोज । सल्यानमा सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले विगत एक वर्षदेखि तलब पाउन सकेका छैनन् । शून्य तथा एक दरबन्दी भएका विद्यालयमा पढाउँदै आइरहेका शिक्षण सिकाई सहयोग अनुदान शिक्षकहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएका हुन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले गत आर्थिक वर्षको साउनदेखि हालसम्म पारिश्रमिक नपाएको जनज्योति माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका–८ का शिक्षक ओमप्रकाश बुढाथोकीले बताए । ‘शुन्य तथा एक मात्र दरबन्दी भएका विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरुले गत शैक्षिक सत्रको साउनदेखि पारिश्रमिक पाएका छैनन् ।’ उनलेभने,‘एक वर्षदेखिको पारिश्रमिक नपाउँदा दैनिक गुजारा चलाउन निकै समस्या भएको छ ।’
एक वर्षदेखि तलब नपाउँदा पारिश्रमिक पाउने नपाउनेमा आफूहरु अन्यौलमा परेको वनगाड कुपिण्डे नगरपालिका शारदा आधारभूत विद्यालय क्वरेणीका गणित शिक्षक चन्द्रबहादुर बिसीले बताए । ‘छोडेर जाने हो पहिले विद्यार्थीको भविष्य अन्योल पर्ने नछोडाँैं आफ्नो भविष्य अन्योलमा परी रहेको छ’ उनले भने ।
पारिश्रमिक आउने नआउने बारेमा मन्त्रालयले हालसम्म कुनै जानकारी नगराएको शिक्षण सिकाई सहयोग अनुदान संघर्ष समिति जिल्ला संयोजक दीपेन्द्रप्रकाश वलीले बताए । ‘सूचना माग्दासमेत सूचना नदिएर मन्त्रालयले सूचनाको हक माथि समेत ठाडो उल्लंघन गरेको छ ।’ उनले भने,‘अनुदान शिक्षकहरुलाई पारिश्रमिक दिन पटक पटक मन्त्रालयमा ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ भएको छैन ।’
सल्यानमा दश स्थानीय तहका विभिन्न विद्यालयमा ९८ शिक्षकले विगत एक वर्षदेखि तलव नपाएको वलीको बताए ।
सल्यानमा सामुदायिक विद्यालयमा माध्यमिक तहमा २९, निम्न माध्यमिक तहमा ६० र प्राथमिक तहमा ९ शिक्षक रहेको र विगत एक वर्षदेखि रोकिएको शिक्षकहरुको तलव कार्तिक भित्र आउने मन्त्रालयले जानकारी गराएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका इकाई प्रमुख लालबहादुर घर्तीले बताए ।