सुर्खेत, १३ असोज । हिंसा पीडितलाई न्यायको ढोकासम्म पुग्न सघाउने र उनीहरुलाई संविधान तथा कानुनी प्रक्रियाबारे जानकारी दिन ‘न्यायमा पहुँच परियोजना’ संचालन भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले महिला, सिमान्तकृत वर्ग तथा गरिबलाई संविधान तथा कानुनी प्रक्रियाको बारेमा सचेतना फैलाउने ध्येयले ‘न्यायमा पहुँच परियोजना’ सञ्चालन गरेको हो ।
परियोजना अन्तर्गत न्यायमा पहुँच बढाउन मिडियाकर्मीसँग परियोजना टोलीले छलफल गरेको छ ।
मंगलबार वीरेन्द्रनगरमा सम्पन्न मिडियासँग सहकार्य तथा परियोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रमका अवसरमा ‘न्यायमा पहुँच परियोजना’ टोलीका सामाजिक अभियान्ताहरुले पत्रकारसँग छलफल गरेका हुन् । छलफलका क्रममा न्यायमा पहुँच बृद्धि गर्न एकजुट भएर पीडितको पक्षमा लड्ने प्रतिबद्धता पनि जनाएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले न्याय माग्ने भन्दा दिने निकाय चनाखो नहुदाँ पीडितले न्यायको ढोका ढकढक्याउन नसकेको तर्क गरे ।
परियोजना अधिकृत सजना सुनारका अनुसार कार्यक्रममा परियोजना संयोजक सर्पराज जोशीले ‘न्यायमा पहुँच परियोजना’ बारे प्रस्तुतिकरण गरेका थिए । ‘न्यायमा पहुँच परियोजना’ले हाल कालिकोट, दैलेख, सुर्खेत र सल्यानका २÷२ वटा स्थानीय तहमा काम गरिरहेको छ ।