सुर्खेत । राजमार्गको सुर्खेतदेखि जुम्लाको २३२ किलोमिटर राजमार्गमा दर्जर्नौ ठाउँमा पुल निर्माण हुन थालेको वर्षौ दिन बित्यो । लामो समयदेखि निर्माधिन ती पुलहरु अहिले पनि बन्न सकेका छैनन् ।
कर्णाली राजमार्गमा निर्माधिन पुलका ठेकेदारहरु पटक पटक बद्लिने तर, लामो समयदेखि बन्न सकेका छैनन् ।
कर्णाली राजमार्गअन्र्तत पर्ने दैलेखको आठबिस नगरपालिका जाक्सी खोलामा निर्माण सुरु गरिएको पुल सात वर्ष भएको र सात वर्षमा सातवटा ठेकेदार परिवर्तन भइसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुन नसकेको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले बताइन् । ‘ठेकदार बद्लिएका बदलिए छन् ।’ उनले भनिन्,‘लामो समयदेखि पक्की पुल बन्न सकेको छैन् ।’
कर्णाली राजमार्गका अधिकांस पुल निर्माणको जिम्मेवारी लिएर आएका सबै ठेकेदारहरूले काम बीचमा छोड्दै भाग्दै गरेपछि पुल निर्माण सम्पन्न हुन नसकेको कालिकोट खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘पुल निर्माण नहुँदा हरेक वर्ष बर्खाको भलले पुलका विभिन्न भागहरू बगाउँदै आएको छ ।’ उनले भने,‘काम गर्न ठेकेदार आउँछन्, स्थानीय मजदुरलाई काममा लगाउँछन्, तर कुनै पनि ठेकेदारले मजदुरको पैसा दिएका छैनन्, होटेलमा खाएको रकमसमेत उधारो छ ।’
पुल निर्माणका लागि आउने ठेकेदारहरुले स्थानीयलाई काममा लगाउने, होटेलमा उधारो खाने अन्तिममा काम गरेको रकम भुक्तानी नदिएर ठेकेदारहरु फरार हुने गरेको दैलेख आठबिस नगरपालिका–५ का रुपक बस्नेतले बताए । ‘ठेकेदार पुल बनाउनका लागि आउँछन् ।’ उनले भने, ‘स्थानीयलाई काममा लगाउँछन् अन्नत स्थानीय ठगेर ठेकेदार भाग्छन् ।’
कर्णाली राजमार्गमा विगत लामोदेखि निर्माण थालिएका पक्की पुलहरू अहिलेसम्म निर्माण हुन नसकेका कारण वर्षायाममा निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको कालिकोट तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । ‘लामो समयदेखि ठेकेदारले पुल निर्माण गरेका छैनन् । वर्षा लाग्दासाथ खोलामा बाढीले बाटो बगाउँछ । यात्रुहरुले स्थानीय सरकारलाई गाली गर्छन् ।’ उनले भने,‘पुल निर्माण, अनुगमन, ठेक्का लगाउने संस्था पनि थाहा नहुँदा स्थानीय सरकारलाई गाली मात्र पाउने ठेकेदार भाग्ने गरेका छन् ।’
कर्णाली राजमार्गका दर्जनौं पुल निर्माण अलपत्र
कर्णाली राजमार्ग अन्तर्गतका दर्जनौ पक्की पुल नबन्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ भने कर्णाली राजमार्ग दुर्घटनाको प्रमुख कारण समेत बन्न पुगेको छ । कालिकोट र दैलेखको सिमानमा पर्ने घट्टेखोला पुल, गोठखोला, कुमाले खोला, जाक्सी खोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगाड, सिम्ला खोला निर्माण अलपत्र परेका छन् । ठेकेदारहरुले ठेक्का पारेर निर्माणको काम अलपत्र छाडेरका भागेका कारणले पुल निर्माण कार्य अलपत्र परेका छन् ।