सुर्खेत । कोरोना संक्रमणका कारणले कर्णालीमा शुक्रबार दुई जनाको मृत्यु भएको छ । रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीया पुरुष र सुर्खेत गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीया पुरुषको मृत्यु भएको हो ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीया पुरुषको कोहलपुर मेडिकल कलेज बाँकेमा शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका बताए ।
शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।
सुर्खेत गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीया पुरुषको असोज २८ गते घरको शौचालयमा शौच गर्न गएको अवस्थामा मुख फिज आएको बेहोस अवस्थामा भेटिएको त्यसै दिन प्रदेश अस्पतामा भर्ना गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । ‘अस्पतालमा उपचार गर्दा उनको फोक्सोमा हावा भरिएको अवस्था थियो ।’ उनले भने,‘कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ भेटियो । उनको उपचारकै क्रममा मृत्यु भयो ।’
कोहलपुर मेडिकल कलेज बाँकेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीया पुरुषको बाहिर जिल्लामा मृत्यु भएका कारणले कर्णालीको मृतक गणना नहुने स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए ।
कँडेलका अनुसार योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।