पाल्पामा दुई जना कोरोना संक्रमित को मृत्यु
११ कार्तिक,पाल्पा
पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारीका अनुसार लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिला र पुरुषको सोमबार राति मृत्यु भएको हो ।
दुर्घटनामा परेर अस्पताल ल्याइएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो । उनमा कोरोनाका लक्षण समेत देखिएको अस्पतालले जनाएको छ । रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको पनि सोमबार राति नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अस्पतालका अनुसार ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो । पाल्पामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ सय ५८ जना निको भएका छन् भने २ सय ३२ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्