सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले विभिन्न कार्यक्रम गरी शनिबार ‘गणेशजल महोत्सव २०७९’ सम्पन्न गरेको छ । महाेत्सवकाे कर्णाली प्रदेश सकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले एक समाराेहका बीच उद्घाटन गर्नुभयाे ।

महाेत्सवकाे उद्घाटन गर्दै मन्त्री पछाईले सहकारीले सानाे सानाे पूँजी संकलन गरेर समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेकाे बताउनुभयाे ।

गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न स्थानमा गरेको टोल भेला तथा शेयर सदस्य र कर्मचारीहरुलाई सम्मान कार्यक्रम गरेर ‘गणेशजल महोत्सव २०७९’ मनाएको हो । 

सहकारीले आज नै ‘स्कुल स्कुलमा गणेशजल’ भन्ने नयाँ कार्यक्रमको सार्वजनिक गरेको छ । उक्त कार्यक्रमले विद्यालयका साना–साना भाइ बहिनीलाई बचत गर्ने बानीको विकास गर्न सघाउ पुग्ने गणेशजल सहकारीका अध्यक्ष प्रेमकुमार बिसीले जानकारी दिनुभयो । 

देशभर बैंकहरु मर्ज भइरहेको बेलामा अब सहकारी पनि मर्ज भएर अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ गणेशजल सहकारी र हाम्रो सुर्खेत कृषि सहकारी बीच मर्ज भएको छ । गणेशजल सहकारीका अध्यक्ष प्रेमकुमार बिसी र हाम्रो सुर्खेत कृषि सहकारीका अध्यक्ष उत्तम लामिछानेले दुईवटा सहकारी मर्ज गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

कर्णाली केअर हस्पिटलले गणेशजल सहकारीका सदस्यलाई उपचार गर्दा २५ प्रतिशत छुट सहुलियत दिने सम्झौता भएको छ । कर्णाली केअरका प्रतिनिधि र गणेशजल सहकारीका उपाध्यक्ष गोमा मल्ल बीच आज सम्झौता पत्रमा हस्ताक्षर भइ लागू हुने जनाइएको छ । यो सुविधा लिँदा गणेशजल सहकारीका सदस्यहरुले नियमित रुपमा मासिक बचत अनिवार्य गरेको हुनुपर्दछ ।