विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाकामा मंगलबार विहान अज्ञात समुहले एक प्रधानाध्यापकको अपहरण गरेर गोली हानी हत्या गरेको छ ।

मिक्लाजुङ गाप १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार विहान ६ बजेतिर अज्ञात समुहले घरबाटै अपहरण गरेर गोली हानी हत्या गरेको हो ।

अपहरणमा परेका प्रअ श्रेष्ठको शव घरदेखि एक किलोमिटर टाढा रहेको मिक्लाजुङ १ मै पर्ने बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

एसपी सन्तोष खडकाका अनुसार प्रअ श्रेष्ठलाई टाउकोमा गोली प्रहार गरिएको छ ।

परिवारका सदस्यका अनुसार मंगलबार बिहान सवा ६ बजेतिर ४–५ जनाको संख्यामा आएको समुहले प्रअ श्रेष्ठलाई अपहरण गरेका थिए ।

घटनास्थल पुर्वपश्चिम राजमार्गदेखि झण्डै ३० किलोमिटर उत्तर विकट पहाडी क्षेत्रमा पर्छ ।

अपरहरण गर्नेहरु नेकपा विप्लव समूहका कार्यकर्ता हुनसक्ने प्रहरीको आशंका छ ।

एसपी खडकाले भने, ‘प्रअलाई अपहरण गरेर हत्या गर्नेहरु विप्लव समुहकै हुन भन्ने सूचना आएको छ हामी अनुसन्धान गर्दैछौ ।’

यो समूहमाथि सरकारले प्रतिबन्ध लगाएको भए पनि देशभर विप्लवका कार्यकर्ताहरुले छिटपुट हिंसात्मक घटना गर्ने प्रयास गरिरहेका छन् ।