सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको चर्चित ‘नमुना हङ्गकङ बजार’ पुनः सञ्चालनमा आएको छ। वीरेन्द्रनगर–१० स्थित बौद्धिक टोलमा सिटि बसपार्क अगाडि आइतबार पत्रकार सम्मेलन गर्दै बजार व्यवस्थापन समितिका अध्यक्ष गणेश बिसीले २० वर्षदेखि वीरेन्द्रनगर–६ स्थित हटियालाईनमा रहेको नमुना हङकङ्ग बजारलाई थप व्यवस्थापनका साथ नयाँ स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएका छन्।

नगर क्षेत्रभित्र रहेका सरकारी जग्गामा बनेका संरचना हटाई पार्किङ्ग लगायतका संरचना निर्माण गर्न गत फागुन ३० गते वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाएर पुरानो बजार भत्काएको थियो। करिब तीन महिनापछि, ७ कठ्ठा क्षेत्रफलमा बजार पुनः सञ्चालनमा ल्याइएको अध्यक्ष बिसीले बताए।

नमुना हङ्गकङ बजारमा सञ्चालन भएका ३२ पसलले करिब ८० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्नेछन्। अध्यक्ष बिसीले आफ्नो स्वार्थको लागि नभई कर्णालीबासीको हितको लागि उक्त बजार पुनः सञ्चालनमा ल्याएको बताए। बजार पुनः सञ्चालनका लागि नीजि जग्गामा दश वर्षको सम्झौता गरिएको छ।

वीरेन्द्रनगर नगरपालिकाले बजार व्यवस्थापनमा माटोको सहयोग गरेको छ। सोमबार बिहान ९ बजे वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले बजारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।