सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन्। यो बैठकमा पहिलो पटक प्रधानमन्त्री ओलीको उपस्थिति रहेको हो।

बैठक दुई बजे बोलाइएको भए पनि प्रधानमन्त्री ओली करिब पौने ३ बजे पुगेका थिए। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो। यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो। तर, उनले आफू आउन नसक्ने जानकारी गराउँदै गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए।

बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ऐनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन्। यस विधेयकमा भएका संशोधन प्रस्तावहरूलाई पारित गरेर भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने दिशा तर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। समितिको बैठकमा अन्य सांसदहरू पनि उपस्थित थिए।