सुर्खेत । कर्णाली केयर अस्पताल, सुर्खेतले १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उपचार तथा शल्यक्रिया सेवा निशुल्क दिने भएको छ। अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाले यसअघि प्रदान गर्दै आएको यो सेवा अब कर्णाली केयर अस्पतालले सुर्खेतमा प्रदान गर्नेछ।

कर्णाली प्रदेशका बालबालिकाको लागि अपाङ्गता पुनर्स्थापना सेवा कर्णाली केयर अस्पतालबाट दिने गरी कर्णाली केयर अस्पताल र पुर्नस्थापना केन्द्र, बनेपा बीच सम्झौता भएको छ। देशभरिका सातै प्रदेशमा शारीरिक अपाङ्गताको पहिचान, उपचार, शल्यक्रिया, पुनर्स्थापना, परामर्श तथा सहायक सामग्रीहरू उपलब्ध गराउँदै आएको एचआरडिसीले कर्णाली प्रदेशमा सेवा विस्तार गर्दै कर्णाली केयर अस्पतालसँग सहकार्य गरेको जानकारी गराएको छ।

यस सम्झौतासँगै, कर्णाली प्रदेशका १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उपचार तथा शल्यक्रिया हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर रुपक कँडेलको नेतृत्वमा कर्णाली केयर अस्पतालमा हुनेछ। कर्णाली केयर अस्पतालका निर्देशक दीपक गौतमका अनुसार, आइतबार दुई जना नानीबाबुको सफल शल्यक्रिया गरी यो सम्झौता कार्यान्वयनमा ल्याइएको छ।