सुर्खेत । मेहेलकुना अस्पतालले दैनिक सेवा सञ्चालन र भौतिक पूर्वाधारको विकासमा देखिएका समस्यालाई समाधान गर्न मुख्यमन्त्री तथा मन्त्रीपरीषद कार्यालय र सामाजिक विकास मन्त्रालयलाई आवश्यक पहल गर्न पत्राचार गरेको छ। अस्पताल प्रशासनले बजेट अभाव, भौतिक संरचनाको अधुरो निर्माण, तथा विभिन्न चिकित्सकीय सेवामा देखिएका समस्याहरू समाधानका लागि मन्त्रालयसँग अनुरोध गरेको हो। मेहेलकुना अस्पतालका अनुसार, आर्थिक वर्ष ०८१ र ८२ मा अस्पताललाई प्रदान गरिएको बजेट अत्यन्तै न्यून रहेको र यसले दैनिक कार्यालय सञ्चालनमा गम्भीर समस्या उत्पन्न गरिरहेको छ। अस्पतालले मन्त्रालयलाई थप बजेट व्यवस्था गरी आवश्यक व्यवस्थापन गरिदिन आग्रह गरेको छ। भवन निर्माण सम्बन्धमा, ५० शैया को अस्पतालका लागि स्वीकृत भवन निर्माण कार्य अलपत्र रहेकोले तत्काल निर्माण कार्य पूरा गराउन पनि पहल गरिदिन अनुरोध गरिएको छ। साथै, आँखा उपचार सेवाको विस्तारका लागि समेत आग्रह गरिएको छ, किनकि अस्पतालले ५० शैया को स्तरोन्नति भए तापनि आँखा उपचार सेवा सञ्चालन गर्न नसकेको जनाइएको छ। 

शल्यक्रिया सेवामा पनि अस्पतालले भौतिक संरचना र उपकरणको अभावले जटिल किसिमका शल्यक्रिया सेवा प्रदान गर्न असमर्थता जनाएको छ। अस्पतालमा रहेका वरिष्ट कन्सल्टेन्ट जनरल सर्जन डा. सोजन सापकोटा लगायतका विशेषज्ञ चिकित्सकको उपस्थिति हुँदाहुँदै पनि आवश्यक उपकरणको अभावमा सेवा प्रभावकारी हुन नसकेको बताइएको छ। अन्ततः बढ्दो डायलासिस बिरामीको सङ्ख्यालाई ध्यानमा राख्दै, अस्पतालले डायलासिस सेवा विस्तारका लागि आवश्यक उपकरण र भौतिक संरचना निर्माणमा पनि मन्त्रालयसँग सहयोगको माग गरेको छ।