सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पटक -पटक नेताहरूलाई सिंहदरबार पठाइए पनि उनीहरूले कर्णालीलाई नै हराएको आरोप लगाएका छन्। शनिवार वीरेन्द्रनगरमा आयोजित रास्वपाको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले कर्णालीको विकासलाई नेताहरूले बेवास्ता गरेको र उनीहरूले केवल आफू र आफ्नालाई मात्र बनाउन लागेको आरोप लगाए ।

उनले कर्णालीलाई लामो समयदेखि विकासको मुख्य धारा भन्दा टाढा राखिएको र यस क्षेत्रका नागरिकको आकाङ्क्षालाई सम्बोधन गर्न नेताहरूले असफलता व्यहोरेको बताए। “विकासमा पछाडि छुटेको कर्णालीलाई अब हामी जोड्छौं” लामिछानेले बताए। उनले विगतका नेतृत्वकर्ताहरूले कर्णालीका जनताको विश्वासलाई धोका दिएको आरोप पनि लगाए।लामिछानेले नेपाली काँग्रेस, एमाले, र माओवादीजस्ता प्रमुख राजनीतिक दलका नेताहरूले कर्णालीलाई निरन्तर रुपमा बेवास्ता गरेको र यस क्षेत्रका जनतालाई धोका दिएको दाबी गरे।

 उनले भने, “अहिले सम्म कर्णालीले जित्न सकेन, सधैँ हार्दै आयो। तर अब आगामी २०८४ सालपछि हामी कर्णालीलाई जिताउँछौं।उनले रास्वपाको नेतृत्वमा कर्णालीको विकासमा तीव्रता आउने आशा व्यक्त गरे। लामिछानेले रास्वपालाई  आगामी चुनावमा कर्णालीका जनताले सबैभन्दा बढी मत दिने विश्वास व्यक्त गर्दै भने, ” रास्वपामा राजनीतिक आँट, तागत, र ढङ्ग छ, जुन हामीसँगै जिम्मेवारी र जनताको एजेन्डा पनि छ।”सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरूलाई सम्मानजनक तरिकाले बिदा गर्ने समय आएको पनि बताए। “पुराना राजनीतिक पार्टीहरूलाई बिदाइ गर्न नै रास्वपाको  जन्म भएको हो,” उनले भने।पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाको  उपस्थिति सहर मात्र नभई गाउँ -गाउँमा पनि फैलँदै गएको दाबी गरे।

 उनले रास्वपाले  सरकारमा चार महिना रहँदा विधिगत काम मात्रै गरेको उल्लेख गर्दै, केही तत्वहरूले पार्टीविरुद्ध भ्रम फैलाउन खोजेको आरोप लगाए।सभामा बोल्दै सांसद विनीता कठायतले रास्वपा  कर्णाली विकासको आधारशिला बन्ने दाबी गरिन्।भेलाले रास्वपा  कर्णाली प्रदेशका विभिन्न पदाधिकारीहरूलाई पनि चयन गरेको छ। सुर्खेतका मदनबहादुर खड्का रास्वपाको  कर्णाली प्रदेश सभापतिमा चयन भएका छन्। साथै, ९ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ, जसमा उपसभापतिमा प्रेम बोहरा, महासचिवमा ललितकुमार चन्द, सचिव र प्रवक्तामा हरिप्रसाद अधिकारी, र कोषाध्यक्षमा स्नेह उपाध्याय रहेका छन्।

सभापति लामिछानेको सम्बोधन र रास्वपाको  कर्णालीमा बढ्दो सक्रियता आगामी चुनावमा पार्टीको प्रभावलाई कसरी प्रभावित गर्ने हो, त्यो भने समयले बताउने छ।