सुर्खेत, भदौ १७ – लगातार पाँच दिनसम्म पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग अन्ततः आइतबार बेलुका पुनः सञ्चालनमा आएको छ। गत बुधबार (भदौ १२) राति परेको अविरल वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो।

यो पहिरोका कारण दैलेखदेखि कालिकोट सम्मका धेरै स्थानमा सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, जुम्लाबाट स्याउ बोकेका करिब ४५ वटा मालवाहक ट्रकहरू पाँच दिनसम्म बीच बाटोमै अलपत्र परेका थिए। ती ट्रकहरूमा रहेका व्यवसायी र चालकहरूले गन्तव्यमा समयमै नपुग्न पाउँदा ठूलो आर्थिक नोक्सान बेहोर्नु परेको थियो।

प्रहरी निरीक्षक पोषण थापाले आइतबार बेलुका अवरुद्ध सडक पुनः सञ्चालनमा आएको जानकारी दिए। उनले भने, “खाँडाचक्र नगरपालिका को ताडीमा रोकिएका स्याउका ट्रकहरू आइतबार बेलुका गन्तव्यतर्फ लागेका छन्। केही ट्रकहरू भने भोलिको यात्रा तय गरेका छन्। यात्रुहरूको लागि यो राहतको खबर हो।” सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको पुष्टि गर्दै यात्रुहरूलाई यात्रा गर्दा उच्च सावधानी अपनाउन आग्रह गरेका छन्।

उनले भने, “यो बर्सातको समयमा यात्रा जोखिमपूर्ण हुन सक्छ, त्यसैले यात्रुहरूलाई रात्रिकालीन यात्रा नगर्न विशेष आग्रह गर्दछौँ।” कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका हुल्म  बजारदेखि शुभकालीका  गाउँपालिका – १ गगनेखोला सम्मका क्षेत्रहरूमा पहिरो हटाउन सडक डिभिजन कार्यालय जुम्ला र सुर्खेतले चार दिनसम्म लगातार काम गरेको थियो। अत्यधिक कठिनाइका बाबजुद, पहिरो हटाएर राजमार्गलाई सञ्चालनमा ल्याउन सफल भएको डिभिजन कार्यालयले जनाएको छ।

यससँगै यात्रुहरू र व्यवसायीहरूले ठूलो राहतको सास फेरेका छन्। यात्रा पुनः सुचारु भएसँगै यातायात तथा आर्थिक गतिविधिहरू पनि क्रमशः सामान्यीकरण हुँदै गइरहेको देखिएको छ। पहिरोको जोखिम अझै पनि रहेकोले, राजमार्गमा यात्रा गर्ने सबैलाई उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।