२० भाद्र, सुर्खेत । मानवसेवा आश्रम सुर्खेत शाखाको आयोजनामा श्रीमद् भागवत महायज्ञको आयोजना हुने भएको छ । मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान अन्तर्गत कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेत शाखाको भवन निर्माणका निमित्त आर्थिक सहयोग जुटाउने अभिप्रायले महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञको सम्बन्धमा निर्णय गर्न बुधबार सुर्खेतमा विचार विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी, केन्द्रीय महासचिव शुसिला केसी, लुम्बिनी प्रदेश संयोजक सरु अधिकारी, कर्णाली प्रदेश संयोजक संजिता गौतम, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी लगायतका व्यक्तिहरूसहितको उपस्थितिले महायज्ञका सम्बन्धमा पाँच बुँदे निर्णय पारित गरेको छ ।

कार्यक्रमले महायज्ञ सञ्चालन आगामी मंसिर २१ गतेदेखि २७ गतेसम्म हुने, महायज्ञमा कर्णाली प्रदेशका सबै जिल्लाका स्थानीय पालिकाहरू, प्रदेश सरकारको प्रत्यक्ष सहभागिता हुनुपर्ने, महायज्ञ सफल बनाउन बैँक तथा वित्तीय संस्थाहरू, आध्यात्मिक संस्थाहरू, लायन्स, रोटरी, जेसिस, लगायत राजनीतिक दलको सहभागिता अनिवार्य रुपमा गराउन तयारीमा जुट्ने, छिन्चु बजार क्षेत्रमा महायज्ञ सञ्चालनका लागि छुट्टै भेला गर्ने साथै महायज्ञ मूल आयोजक समिति १००१ सदस्यीय रहने निर्णय गरेको हो ।