सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कृषि क्षेत्रको विकास मार्फत नेपालको आर्थिक उन्नति र सामाजिक विकास सम्भव हुने बताउँदै, कर्णालीमा कृषि क्रान्तिको सम्भावना र चुनौतीहरू बारे महत्त्वपूर्ण विचार व्यक्त गरेका छन्।

२०८१ भाद्र ३० गते सुर्खेतको वीरेन्द्रनगरमा बिपि चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा कृषि क्रान्ति: सम्भावना र चुनौती’ विषयक प्रदेश स्तरीय विचार गोष्ठीमा बोल्दै, मन्त्री शाहले कर्णालीको कृषि उत्पादनलाई जलवायु परिवर्तनले चुनौती दिइरहेको उल्लेख गरे। कर्णालीमा नयाँ रोगकीरा र प्रकोपहरूका कारण कृषिमा समस्याहरू देखिन थालेको, र जनसङ्ख्यामा वृद्धि हुँदा उत्पादन र आपूर्तिबीच असन्तुलन रहेको उनले बताए।

मन्त्री शाहले कर्णाली प्रदेशले आवश्यक खाद्यान्न र तरकारीको ५०% मात्र आफ्नै उत्पादनबाट आपूर्ति गर्ने गरेको र बाँकी ३०% आयात गर्नुपर्ने अवस्था रहेको बताए।

उनले कर्णालीमा कृषि उत्पादन बढाउन नयाँ प्रविधि र अनुसन्धानद्वारा विकास गरिएका समाधानहरू किसानसम्म पुर्‍याउन आवश्यक भएकोमा जोड दिए। कर्णालीमा कुल खेतीयोग्य जमिनको ७३% मात्र प्रयोग भइरहेको र त्यसमा पनि सिँचाइ सुविधा न्यून रहेको उनले औंल्याए।

सम्बोधनमा, मन्त्री शाहले कर्णालीमा जैविक विविधता सहितका रैथाने बाली, तरकारी, जडीबुटी र पशुपालनको अपार सम्भावना रहेको बताए। कर्णाली सरकारको नीति र कार्यक्रमहरू आर्थिक न्याय, गरिबी निवारण, रोजगार सिर्जना र उद्यमशीलता विकासमा केन्द्रित रहेको उनको भनाइ थियो।

सम्बोधनको अन्त्यमा मन्त्री शाहले कर्णालीलाई आत्मनिर्भर र कृषि निर्यातमुखी प्रदेश बनाउनेतर्फ सरकारको प्रतिवद्धता व्यक्त गर्दै यस्ता विचार गोष्ठीले कृषि क्रान्तिको नयाँ युगको शुरुवात गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।