सुर्खेत । लागु औषध अफिमसहित एक जनालाई कर्णाली प्रदेश प्रहरी कार्यालयले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई केजी ७०० ग्राम अफिमसहित रुकुमपश्चिम सानीभेरी नगरपालिका–३ गरेला ५३ वर्षीया गोरख कुसारी पक्राउ गरेको हो ।
लागु औषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले कुसारीलाई मंगलबार दिउँसो पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । ‘विशेष सुराकीको आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो ।’ सहप्रवक्ता श्रेष्ठले भने, ‘खानतलासी गर्दा दुई केजी ७०० ग्राम लागु औषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिईएको हो ।’
नियन्त्रण लिईएका कुसारीको अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।