सुर्खेत । आज आश्विन संक्रान्तिका दिन देशभर विश्वकर्मा पूजा आराधना गरी वास्तु तथा सवारी साधन, कलकारखाना, र औजारहरूको पूजा गरिएको छ।

विश्वकर्मा पूजाका क्रममा आआफ्ना सवारी साधन, कलकारखानामा प्रयोग हुने उपकरण, औजारहरू विशेष रूपमा सजाएर पूजा गर्ने परम्परा रहेको छ। विशेष गरी, कलकारखाना र सवारी साधन सम्बन्धी क्षेत्रमा काम गर्ने मजदुरहरूले पनि सहभागी भई पूजा गर्दछन्।

पूजा पश्चात् बालुवा र अन्य चीजहरूबाट बनाइएको विश्वकर्माको मूर्तिलाई नदी, मुहानस्थल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने परम्परा रहेको छ। आज पूजा गरिएपछि मंगलबार देखि मूर्तिलाई नदीमा लगेर विसर्जन गरिने छ।

विश्वकर्मा पूजामा कालिगडहरूले प्रयोग गर्ने औजारहरूमा विशेष पूजा गरेमा ती उपकरणहरू लामो समयसम्म टिक्ने, काम गर्दा बिग्रिने सम्भावना कम हुने र राम्रो नतिजा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

धार्मिक ग्रन्थहरू अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिँदा विश्वकर्माले समुद्रमन्थनमा ‘भेद द्वारका’ बनाई कृष्णलाई लुकाएका थिए भन्ने मान्यता छ, जसले यो पूजाको महत्त्वलाई अझ बलियो बनाउँछ।